रसुवा– नेपाल र चिनचीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढी हुँदै रोजगारीका लागि केरुङ जाने नेपाली महिला कामदारको संख्या बढ्दै गएको छ।
चिनियाँ नेसनल कंग्रेस सभालाई ध्यानमा राख्दै नेपाल फर्काइएका कामदारहरु कंग्रेससभा सक्किएसँगै केरुङतर्फ गइरहेका छन् । नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै दैनिक ४० देखि ५० जनाको संख्यामा महिलाहरु केरुङ गइरहेको सीमास्थित माइती नेपालकी सामाजिक परिचालक अम्बिका श्रेष्ठले बताइन्।
‘केरुङका होटल तथा रेटुरेन्टमा काम गरिरहेकाहरु अहिले धमाधम त्यता गइरहेका छन्, चीन प्रवेश गर्ने महिलाको विवरण राख्न सहायता कक्ष स्थापना गरी जाने–आउने दुवैको रेकर्ड राखेका छौं’, उनले भनिन्।
नेपाली महिलाहरुले केरुङको होटलमा जोखिमपूर्ण रुपमा रोजगारी गरिरहेको बताइन्छ । महिला कामदारलाई केरुङ प्रवेशमा कडाइ गरे पनि अभिभावकहरुले बोर्डरसम्म छोडिदिने र त्यहाँबाट व्यवसायीहरुले लैजाने गरेको समेत सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । केरुङमा एउटा होटल तथा रेस्टुरेन्टमा ३ जनादेखि ७ जनासम्म नेपाली महिला कामदार रहेको बताइएको छ । उनीहरुको तलब मासिक १५ हजार रुपैयाँदेखि २५ हजार रुपैयासम्म हुने गरेको बताइन्छ।
केरूङ जान खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट नहुने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका हुन् । पछिल्लो साढे १ महिनामा साढे दुई सयको हाराहारीमा रसुवाली महिला केरूङ गएका छन् । तर गएकामध्ये ५० प्रतिशत फर्कने गरेका माइती नेपाल रसुवाले जनाएको छ।
विशेषगरी जिल्लाको यार्सा, राम्चे, सरमथली, हाकु, थुमन डाँडागाँउ लगायत स्थानबाट सबैभन्दा बढी किशोरी केरूङ पुगेका छन् । चीनको केरूङमा सञ्चालनमा रहेका होटलमा अधिकांश १४ वर्षदेखि २५ वर्ष उमेरसमूहका किशोरी भेटिने गरेका छन् । केरुङमा २८ भन्दा बढी होटल सञ्चालनमा छन्।
रसुवाका साथै छिमेकी जिल्लाहरु नुवाकोट, धादिङ, सिन्धुपाल्चोक लगायतका क्षेत्रबाट पनि कामदारहरु केरूङ पुगेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।