काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अनुसन्धानमा खटिएका सिआइबीका डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको आरोपमा उजुरी परेपछि डिएसपी जिसीलाई कञ्चनपुर जिल्ला अदालतले बयानका लागि बोलाएको थियो। सोमबार र मंगलबारको बयान सकिएपछि उनलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो।
उनलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दामा ४ लाख रुपैयाँ धरौटी माग भएको छ। अनुसन्धानमा खटिएका ८ जना प्रहरीविरुद्ध उजुरी परेको थियो। बाँकी ७ जना यसअघि नै धरौटीमा रिहा भइसकेका छन्। डिएसपी जिसी हाल निलम्बनमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।