राजविराज– कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गा अतिक्रण गर्न आएको समूह र प्रहरीबीच बुधबार झडप भएको छ।
सप्तरीको कञ्चनरुप नगरपालिका-१, बैरवास्थित त्रियुगा नदीको पूर्वपट्टि भएको झडप क्रममा करिब एक दर्जन व्यक्ति पक्राउ परेका छन्। खाली रहेको करिब एक हजार बिघा जग्गा अतिक्रमण गरी बस्ती बसाउने मनसायले आरक्षभित्र प्रवेश गरेका एक हजारभन्दा बढीको समूहलाई प्रहरीले सम्झाएर पठाउने प्रयास असफल भएपछि झडप भएको एसपी राजेन्द्र विष्टले जानकारी दिए।
झडपका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले लाठी चार्ज र करिब डेढ दर्जन अश्रु ग्यास प्रहार गरेको थियो।
सोही क्रममा जग्गा अतिक्रमणको नेतृत्व गरेका मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रीय सदस्य तथा प्रदेश १ का संयोजक शक्ति राईसहितका व्यक्तिलाई पक्राउ गरिएको एसपी विष्टले बताए। नाइके बनेका अन्य आधा दर्जन व्यक्तिको खोजी भइरहेको उनको भनाइ छ।
‘सरकारले जग्गा वितरण गर्दैछ भनी सर्वसाधारणलाई बहकाएर आरक्षको जग्गा अतिक्रमण गर्ने मनसाय देखियो,’ एसपी विष्टले भने, ‘त्यो योजनाबारे हामीले राति नै जानकारी पायौं र उनीहरुको योजना असफल भयो।’
झडपपछि सर्वसाधारणको भिड तितरबितर भएको थियो। ‘सर्वसाधारणमा रहेको भ्रम हटाउन हामीले माइकिङ पनि गर्यौं,' विष्टले भने, ‘फर्कन चाहनेका लागि बसमा बसाएरै पठायौं।’
जग्गा अतिक्रमण गर्न झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर, भोजपुर, चितवन, गोरखा र अधिकांश व्यक्ति मकवानपुरवाट आएको सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले जानकारी दिए। अधिकांश व्यक्ति घर बनाउने सामग्री तथा परिवारसहित आएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।