



वासिङ्टन, १३ चैत (रासस /सिन्ह्वा) – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र इजिप्टका विदेशमन्त्री सामेह सोउकीबीच मङ्गलबार द्वीपक्षीय भेटवार्ता भएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ।
पोम्पेओ र सोउकीबीच दुई देशको आपसी हित र क्षेत्रीय सुरक्षा तथा स्थायित्वका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पल्लाडिनोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
यस छलफलको क्रममा पोम्पेओले इजिप्टलाई इजिप्ट–इजरायल शान्ति सम्झौताको ४० औँ वर्षगाँठको उपलक्षमा बधाई दिएका थिए।
इजिप्ट र इजरायलबीच १९७९ मार्च २६ मा वासिङ्टन डिसीमा इजिप्टका राष्ट्रपति अन्बर सदात र इजरायली प्रधानमन्त्री मेनाचेम बिगिनबीच शान्ति सम्झौता भएको थियो।
यस सम्झौतापछि इजिप्ट र इजरायलबीचको सम्बन्ध सामान्यीकरण हुनुका साथै १९६७ को तेस्रो मध्यपूर्व युद्धमा इजरायलले इजिप्टबाट कब्जामा लिएको सिनाई प्रायःद्वीपको विषय टुङ्गिएको थियो।
सोही युद्धको क्रममा सिरियाबाट गोलान हाइटस्लाई पनि इजरायलले कब्जामा लिएर सन् १९८१ मा आफूमै गाभेको घोषणा गरेको थियो । तर यो कब्जालाई अन्तर्राष्ट्रिय समुदायले आजपर्यन्त स्वीकार गरेको छैन।
गोलान हाइटस् इजरायलको हो भनी अमेरिकी प्रशासनले हालै दिएको मान्यतालाई सिरियाले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अधिकारमाथि अमेरिकाको ठाडो हस्तक्षेपको रुपमा लिएको सिरियाली समाचार समिति सानाले जनाएको छ।
––
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।