काठमाडौं – २३ कात्तिकदेखि मलेसियामा हुने एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारत एउटै समूहमा परेका छन्।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेल तालिकामा नेपाल समूह 'ए' मा परेको छ । समूह 'ए' मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन्।
समूह 'बी' मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसिसी पश्चिम क्षेत्र च्याम्पियनसिपको विजेताले प्रतिस्पर्धा गर्नेछन्। एसिसी पश्चिम क्षेत्र च्याम्पियनसिप मलेसियामै भइरहेको छ।
नेपालले पहिलो खेल २५ कात्तिकमा बंगलादेशसँग खेल्नेछ। नेपालको दोस्रो खेल २६ कात्तिकमा भारतसँग र तेस्रो खेल २७ कात्तिकमा मलेसियासँग छ।
यू–१९ एसिया कपको तयारीका लागि हाल नेपाली युवा टिम बंगलादेशमा छ। तयारी क्रममा नेपालले बंगलादेशको यू–१९ टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ। नेपालले बंगलादेशको युवा टिमसँग १६, १८ र १९ कात्तिकमा एकदिवसीय अभ्यास खेल खेल्नेछ।
गत महिना मलेसियामा भएको प्रतियोगिताको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गरेर नेपाली टिम च्याम्पियन बनेको थियो। उपाधिसँगै नेपाल यू–१९ एसिया कपमा छनोट भएको थियो।
नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, सहाब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह
वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी।
प्रशिक्षक – विनोदकुमार दास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।