काठमाडौं- पश्चिमी न्युनचापीय प्रणालीका कारण आज देशको पूर्वी, मध्य र पश्चिमी भेगमा बदलीका साथै केही स्थानमा बर्सात भएको छ।
उक्त प्रणालीको प्रभावले देशको अधिकांश भागमा बदली र मध्यका केही र पूर्वी भेगमा बर्सात भएको मौसमविद् सुवास रिमालले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम भेगमा तुलनात्मक रुपमा कम प्रभाव छ। बंगलादेश आसपासको न्युनचापीय क्षेत्रका कारण पूर्वी क्षेत्रमा अझै बढी असर देखिएको तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ।
उच्च वायुमण्डलमा तीन-चार दिन अघिदेखि रहेको न्युनचापीय क्षेत्र बुधबारदेखि बाहिरिने भए पनि मध्य वायुमण्डलमा रहेको न्युनचापीय क्षेत्रको असरले पहाडी क्षेत्रमा बदली र छिटफुट बर्सात हुने सम्भावना रहेको मौसमविद् रिमालको भनाइ छ।
पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का बर्सात भएपछि केही चिसो महसुस गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाको बितेको २४ घन्टाको विवरणानुसार देशका पूर्वी भेगका अधिकांश स्थानमा बर्सात भएको छ। धनकुटामा १५ र विराटनगरमा १० र ओखलढुंगामा दुई मिमी वर्षा भयो।
आज सबैभन्दा कम जुम्ला एक र सबैभन्दा कम भैरहवामा ३२ डिग्री सेल्सियस छ। काठमाडौँको न्युनतम १२ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।