काठमाडौं– एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह 'ए' को छनोट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ।
नेपाल छनोटको पहिलो खेलमा घरेलु टिम किर्गिस्तानसँग २–० ले पराजित भयो। खेलको २० मिनेटमा बुरुभाइभले गोल गरेर घरेलु टिम किर्गिस्तानलाई अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा किर्गिस्तानका सुकुरोभले दोस्रो गोल गरेका थिए।
खेलमा अग्रता लिएपछि किर्गिस्तानले नेपालमाथि दबाब बढाएको थियो। तर नेपालका कप्तान तथा गोलकिपर अर्पण कार्कीले उत्कृष्ट प्रदर्शन गरेर किर्गिस्तानका प्रहार विफल पारे।
६१ मिनेटमा नेपालले बराबरी गर्ने सुन्दर मौका खेर फाल्यो। किर्गिस्तानका गोलकिपर विट भइसकेको अवस्थामा रेजिन सुब्बा खाली पोस्टमा गोल गर्न चुकेका थिए।
एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह 'ए' मा नेपालसहित युएई, ओमान, बहराइन र आयोजक किर्गिस्तान गरी पाँच टिम छन्। समूहमा शीर्ष स्थान हात पार्ने टिम एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ। दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।
नेपालको दोस्रो खेल १६ कात्तिकमा बहराइनसँग, तेस्रो खेल १८ कात्तिकमा युएईसँग तथा चौथो खेल २२ कात्तिकमा ओमानसँग छ। सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन्। इन्डोनेसिया भने आयोजकको रुपमा छनोट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।