तीव्र गतिमा विकास भइरहेको बाँकेको कोहलपुरले ७१ वर्षीय पाका र अनुभवी मेयर पाएको छ। चार वर्षपहिले नगरपालिका बनेको कोहलपुर पश्चिम नेपालको केन्द्रबिन्दु पनि हो।
तेस्रो पटक कोहलपुरको प्रमुख पदमा निर्वाचित लूटबहादुर रावत नेकपा एमाले बाँकेका सबैभन्दा पाका, अनुभवी र लोकप्रिय नेता हुन्। उनले २०४८ सालमा कोहलपुर गाउँविकास समितिको अध्यक्षमा निर्वाचित भएर पाँच वर्ष काम गरे। २०५४ मा दोस्रो पटक भएको स्थानीय निर्वाचनमा पनि एमालेबाटै उनले जित हात पारे।
२० वर्षपछि भएको स्थानीय तह निर्वाचनमा पनि रावत एमालेबाटै कोहलपुरको मेयर पदमा निर्वाचित भएका छन्। कोहलपुरमा ह्याट्रिक गरेका उनीसँग नेपाल लाइभका वरिष्ठ सम्वाददाता कृष्ण अधिकारीले गरेको कुराकानी:
उमेर ढल्किँदै गए पनि प्रमुख पदको मोह किन?
म टोल छिमेकमै बसेर जनताको सेवा गर्न रुचाउने मान्छे। सबै उमेरका मानिससँग सजिलै घुलमिल हुन सक्छु। २०४९ सालमा म गविस अध्यक्षमा उठेँ, जनताले विश्वास गरेर जिताए। मैले इमानदारीपूर्वक काम गरेँ। २०५४ सालमा पनि पार्टीले मलाई नै उम्मेदबार बनायो, फेरि जितेँ। त्यसयता पार्टीमा निरन्तर क्रियाशील भए आफ्नो क्षेत्रमा जनताका बीचमा रहेरै काम गर्दै आएँ।
लामो समयपछि स्थानीय तहको चुनाव हुने भयो। कार्यकर्ता र जनस्तरबाट पनि मलाई नै पुन: मेयरमा उम्मेदबार बन्नका लागि आग्रह गरियो। पार्टीले पनि सोचविचार गरेरै मलाई उम्मेदबार बनाएको हो। यसपालि पनि जनताले तेस्रो पटक पनि विश्वास गरेर जिताए।
कोहलपुरका जनताले किन पटक-पटक तपाईंलाई चुनाव जिताउँछन्। तपाईंमा के छ त्यस्तो विशेषता?
म नम्र भएर बोल्छु। सबैका समस्या सुन्छु। कोहलपुर क्षेत्रको विकास तथा यहाँका जनताका समस्या समाधानका लागि इमानदारीपूर्वक काम गर्दै आएको छु। आर्थिक रुपमा म पारदर्शी छु। मेरो कार्यशैली र व्यवहारले नै मलाई जनताले जिताइरहेका छन्।
वृद्धभत्ता खाएर आराम गरेर बस्नुपर्ने उमेरमा पनि किन मेयर बन्ने चाहना गर्नुभयो?
मेरो उमेर ७१ वर्ष भए पनि नागरिकतामा दुई वर्ष कम अर्थात् ६९ वर्ष उल्लेख भएका कारण अझै एक वर्ष वृद्धभत्ता खान पाउँदिन (हाँस्दै)। कोहलपुरका जनताले मलाई वृद्धभत्ता खाएर बस्ने होइन, विकास निर्माणमा सक्रिय भएर जनताको सेवा गर्नुपर्छ भनेर विश्वास गरेर जिताएपछि जनताको सेवामै दिनरात खटिएको छु। उमेरका कारण मलाई जनताको काम गर्न कुनै कठिनाइ भएको छैन। तन्नेरी युवाकै जस्तो जोस र जाँगरका साथ म काम गरिरहेको छु।
मेयरमा निर्वाचित भएर आइसकेपछि केके काम गर्नुभयो त?
कोहलपुरको विकास निर्माण, सरसफाइ, सुशासनका क्षेत्रमा काम गर्न विभिन्न योजना बनाएको छु। जनताले प्रत्यक्ष रुपमा अनुभूत गर्न सक्ने कामहरु अगाडि बढ्नेछन्। यो अवधिमा नगर क्षेत्रको फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइडको व्यवस्था मिलाएर फोहर विसर्जनको काम सुरु भएको छ। जसका कारण सहरी क्षेत्र पहिलेको तुलनामा अलि सफा भएको छ।
इमानदारीपूर्वक काम गर्दै आएको छु। आर्थिक रुपमा म पारदर्शी छु। मेरो कार्यशैली र व्यवहारले नै मलाई जनताले जिताइरहेका छन्।
कोहलपुरको सहरी क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा सडकबत्तीको व्यवस्था भएको छ। कोहलपुर चौराहा क्षेत्रमा १०/१२ वर्षदेखि अतिक्रमण गरी बनाइएका ७२ वटा टहरा हटाएर वृक्षरोपण गरेर हरियाली बनाउने योजना अगाडि बढाएको छु। नगरपालिका क्षेत्रमा रहेका सिर्जना, नमुना र सिद्धिविनायक सामुदायिक वन क्षेत्रमा जैविक पार्क निर्माणको प्रक्रिया अगाडि बढाएको छु। सिद्धार्थ बिजनेश ग्रप अफ हस्पिटालिटीसँगको साझेदारीमा कोहलपुर चौराहलाई व्यवस्थित गरेर सुन्दर पार्क निर्माणको काम अगाडि बढाएको छु।
उमेरले पाको र अनुभवी पनि हुनुहुन्छ। नयाँ पुस्ताका लागि तपाईंका योजनाहरु के छन्?
कोहलपुर क्षेत्रमा युवाहरुलाई नै लक्षित गरेर विभिन्न योजना अगाडि बढाएको छु। तीमध्ये एकैसाथ तीन वटा जैविक पार्क निर्माण, कोहलपुर चौराहलाई व्यवस्थित गर्नेदेखि कभर्डहल निर्माणसम्मका योजनाहरु कार्यान्वयनको चरणमा छन्।
मैले युवाहरुका लागि मात्रै नभएर ७० वर्षभन्दा बढी उमेरका वृद्धबृद्धाका लागि उनीहरुकै गाउँटोलमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छु। नि:शुल्क स्वास्थ्य परीक्षण, औषधोपचारका लागि सञ्चालन गरिएको शिविरबाट १ हजार ६९ जना लाभान्वित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।