गाईघाट, उदयपुर- जग्गाको विषयमा विवाद हुँदा सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन्।
उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ यो घटना भएको हो। इलाका प्रहरी कार्यालय ठोक्सिला रामपुरका अनुसार ३५ वर्षीय कृष्ण सदाले आफ्नै दाजु ४५ वर्षीय बिसे सदाको हत्या गरेका हुन्।
घर बनाउनका लागि कृष्णले दाजुसँग जग्गाको कुरा गर्दै आएका थिए। तर दाजुले तत्काल भाइको कुरामा सहमति दिएका थिएनन्। सोमबार साँझ ८ बजेतिर दाजुभाइ भेट भएपछि मादक पदार्थ सेवन गरेको र दुवैबीच झगडा सुरु भएपछि घटना भएको हो। कृष्णले दाजुलाई घरभित्रबाट खुकुरी निकालेर टाउकोमा प्रहार गरेपछि दाजुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
खुकुरी प्रहार छल्न खोज्दा भाउजू सुमनीको पाखुरामा गम्भीर चोट लागेको र हाल उपचार भइरहेको इप्रका, रामपुरका प्रमुख सुवास राईले बताए।
दाजुको हत्यालगत्तै कृष्ण भने फरार छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।