दुवई – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा फेरी अर्को रेकर्ड बनाएका छन्। विराटले आफ्नै देशका महान ब्याट्सम्यान सचिन तेन्दुलकरले सन् १९९८ मा बनाएको रेकर्ड तोडेका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको एकदिवसीय ब्याट्यसम्यानको वरीयतामा पहिलो नम्बरमा उक्लिएका विराटले सचिनको नाममा रहेको रेटिङ अंकको कीर्तिमान भंग गरेका हुन्। विराटले भारतीय ब्याट्सम्यान मध्ये सवैभन्दा बढी रेटिङ अंक जोडेर कीर्तिमान बनाएका हुन्।
विराटले ८ सय ८९ अंक जोडेका छन्। १९ वर्षअघि सचिनले ८ सय ८७ अंक जोडेर बढी अंक जोड्ने भारतीय खेलाडीको कीर्तिमान बनाएका थिए। भारतीय ब्याट्सम्यान मध्ये बढी अंक जोड्ने खेलाडीको तेस्रो नम्बरमा सौरभ गाङगुली छन्। गाङगुलीले सन् २००० मा ८ सय ४४ अंक जोडेका थिए। चौथो नम्बरमा महेन्द्रसिंह धोनी छन्। धोनीले सन् २००९ मा ८ सय ३६ अंक बटुलेका थिए।
न्युजिल्यान्डविरुद्धको सिरिज २–१ ले जितेसँगै विराटले बढी अंक जोड्ने भारतीय ब्याट्सम्यानको कीर्तिमान र एकदिवसीय वरीयतामा पहिलो स्थान कब्जा गरेका हुन्।
आइसिसीको एकदिवसीय वरियताको दोस्रो स्थानमा दक्षिण अफ्रिकाका एबिडी भिलियर्स छन्। तेस्रो स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर, चौथो स्थानमा पाकिस्तानका बाबर अजाम र पाँचौ स्थानमा दक्षिण अफ्रिकाका क्वान्टन डे कक छन्।
एकदिवसीय टिमको पहिलो नम्बरमा दक्षिण अफ्रिका छ । दोस्रो स्थानमा भारत, तेस्रो स्थानमा अस्ट्रेलिया, चौथो स्थानमा इंग्ल्यान्ड र पाँचौ स्थानमा न्युजिल्यान्ड छन्।
बलरको पहिलो वरीयतामा पाकिस्तानका हसन अली छन्। दोस्रो स्थानमा दक्षिण अफ्रिकाका इमरान ताहिर, तेस्रो स्थानमा भारतका जसप्रित बुमराह, चौथो स्थानमा अस्ट्रेलियाका जोस हजलउड र पाँचौ स्थानमा दक्षिण अफ्रिकाका कागिसो राबाडा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।