नयाँ दिल्ली- भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिब परिवारलाई वार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन्।
न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिए।
गरिबीमा रहेकाहरुलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागू गरिने अध्यक्ष गान्धीले बताए। 'गत पाँच वर्ष जनता धेरै समस्याहरुबाट ग्रसित भए, विषेशगरी गरिब जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौँ', उनले भने।
अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी पनि गरे। 'अत्यन्त गरिब २० प्रतिशत परिवारलाई न्यूनतम आयका लागि कांग्रेसले सुनिश्चत गर्दछ, बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हाल्दिन्छौँ', उनले भने।
अहिले घोषणा गरेको योजनाका बारेमा अध्यक्ष गान्धीले झन्डै एक महिना अगाडि आयोजित एक चुनावी सभामा पनि चर्चा गरेका थिए।
यस योजनाबाट झन्डै ५ करोड परिवार र २५ करोड जनता लाभान्वित हुने कांग्रेस नेताहरुले बताएका छन्। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।