काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले एक कार्यक्रमकाबीच ५० लाखसम्मको जोखिम बहन हुने ‘घातक रोग सुविधा योजना' बीमा योजना सार्वजनिक गरेको हो।
सेवाग्राहीहरूको आवश्यकतालाई दृष्टिगत गरी यो योजना सार्वजनिक गरेको जानकारी कम्पनीले दिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाले घातक रोग लाग्दा आइपर्न सक्ने आर्थिक संकटलाई दृष्टिगत गरी योजना ल्याइएको बताए।
'विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न योजनाले सहयोग गर्ने विश्वास लिएका छौं,’कार्यक्रममा झाले भने।
योजनामा बीमा अवधिमा तोकिएका घातक रोग लागेमा जोखिम बहन गर्नेछ। यसका साथै पहिला कुनै पनि योजनाको जीवन बीमा गरेका बीमित वा नयाँ बीमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्ने बताइएको छ।
बिमा योजनामा क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको/डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ।
योजनामा सहभागी हुन नियमित बीमाशुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ।
कम्पनीले १ सय ७० शाखाहरूबाट स्वदेश र विदेशमा गरी २५ लाखभन्दा बढी व्यक्ति बीमित भइसकेका बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।