यू–१९ राष्ट्रिय टिम छनोटका लागि गत वर्ष 'ट्यालेन्ट हन्ट' आयोजना गरिएको थियो । देशका विभिन्न ६ स्थानमा गरिएको 'ट्यालेन्ट हन्ट' मार्फत ५२ युवा खेलाडी छानिएका थिए । जसमध्ये काठमाडौं र कलैयाबाट बढी खेलाडीले स्थान पाएका थिए।
कलैयामा भएको ट्यालेन्ट हन्टमा जनकपुर र वीरगञ्जका खेलाडी पनि सहभागी थिए । त्यस क्रममा वीरगञ्जका खेलाडी अब्बल देखिएका थिए । वीरगञ्जका खेलाडी पवन सर्राफ, अनिलकुमार साह, आरिफ शेखले यू–१९ टिममा स्थान बनाउन सफल भए । तर, वीरगञ्जकै आशा गरिएका तीव्र गतिका बलर रसिद खानका लागि भने यू–१९ राष्ट्रिय टिममा स्थान बनाउन एक वर्ष कुर्नुपर्यो । रसिदले आइतबार घोषणा यू–१९ टिममा पहिलो पटक स्थान बनाएका हुन्।
कात्तिक २३ देखि मलेसियामा हुने एसिया कपमा वीरगञ्जका स्थायी बासिन्दा रसिदले पहिलो पटक नेपालको झन्डा अंकित जर्सी लगाउनेछन् । त्यसअघि रसिदसहितको नेपाली टिमले बंगलादेशमा तयारी गर्नेछ । तयारी क्रममा नेपालले बंगलादेशको यू–१९ टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ । नेपालले बंगलादेशको युवा टिमसँग कात्तिक १६, १८ र १९ मा एकदिवसीय अभ्यास खेल खेल्नेछ।
युवा टिममा छानिएर लगत्तै एसिया कपमा खेल्ने कुराले रसिद निकै उत्साहित छन्।
'विगत एक वर्षदेखि गरेको मिहिनेतका कारण युवा टिममा स्थान पाएँ', अभ्यासका लागि सोमबार बंगलादेश उड्नुअघि रसिदले नेपाल लाइभसँग भने । रसिदले बंगलादेश भ्रमणलाई क्षमता प्रमाणित गर्ने अवसरको रुपमा लिएका छन् । 'अभ्यासमा आफ्नो क्षमता देखाउने अवसर छ । शतप्रतिशत खेलेर टिमलाई योगदान दिन चाहन्छु', उनको विश्वास छ।
रसिदलाई निखारेका प्रशिक्षक जहुर अन्सारी रसिदलाई मिहिनेती खेलाडी मान्छन्।
'रसिद
मिहिनेती खेलाडी हो', रसिद युवा टिममा परेपछि प्रतिक्रिया दिँदै अन्सारीले भने, 'उसको मिहिनेत हेर्दा एक वर्षअघि नै युवा टिममा पर्छ जस्तो लागेको थियो । अब उसले आफ्नो क्षमता देखाउने बेला आएको छ।'
एक वर्षको बीचमा रसिदले यू–१९ टिममा स्थान बनाउन विभिन्न आरोह-अवरोह पार गरे । उनले पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर मात्र पाएनन्, धनगढी प्रिमियर लिग (डिपिएल) को च्याम्पियन टिम चौराहाबाटै खेले।
उनले ट्यालेन्ट हन्टमा देखाएको क्षमता राष्ट्रिय प्रतियोगिताका लागि खेल्न पर्याप्त । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय टिममा रसिदले मध्यमाञ्चलको टिममा स्थान पाए । मध्यमाञ्चलले राष्ट्रिय प्रतियोगितामा बिर्सनलायक प्रदर्शन गर्यो । तर, रसिदका लागि भने यही प्रतियोगिता सम्झनलायक बन्यो । पश्चिमाञ्चल विरुद्धको खेलमा ५ विकेट लिएर उनले जीवनको यादगार प्रदर्शन गरे । तर, उनको टिम मध्यमाञ्चल पराजित भयो।
'राष्ट्रिय प्रतियोगितामा पहिलो पटक खेल्ने अवसर पाएकोमै म खुसी थिएँ । एकै खेलमा ५ विकेट लिएपछि झनै यादगार बन्यो', उनी सम्झन्छन्।
राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन रसिदका लागि टर्निङ प्वाइन्ट बन्न पुग्यो । उनलाई डिपिएलका लागि घरेलु टोली चौराहाले आबद्ध गर्यो । राष्ट्रिय टिमका कप्तान पारस खड्काको रोजाइमा परेर टिममा छानिएका उनले पहिलो रोजाइको टिममा भने मौका पाएनन् । एक खेलमा मात्र खेल्ने मौका पाए । तर पनि उनलाई गुनासो थिएन।
'टिममा धेरै सिनियर दाइहरु हुनुहुन्थ्यो । मेरो लागि टिममा पर्नु नै ठूलो थियो । पहिलो रोजाइमा नपरे पनि धेरै सिक्ने मौका पाएँ', रसिदले भने।
डिपिएलपछि एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताका लागि बोलाइएको पहिलो चरणको टिममा रसिद पनि परे । तर, फेरि रसिदले अन्तिम टिममा स्थान बनाउन सकेनन्।
नेपालले पूर्वी क्षेत्रीय छनोटको च्याम्पियन बनेर नेपाल यू–१९ एसिया कपका लागि छनोट हुन सफल भयो । लगत्तै डाकिएको अर्को क्याम्पका लागि उनी फेरि सामेल भए । एक महिना चलेको क्याम्पमा राम्रो मिहिनेत गरेकाले एक वर्षपछि राष्ट्रिय टिममा स्थान बनाउन सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।