काठमाडौं- नेपाल चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले पदभार ग्रहण गरेका छन्। सोमबार अपरान्ह बोर्डमा भएको एक कार्यक्रमका बीच अध्यक्ष भट्टराईले पदभार ग्रहण गरेका हुन्।
चलचित्रक्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थितिमा पदभार ग्रहणपछि चलचित्रकर्मी तथा सञ्चारकर्मीहरुमाझ सम्बोधन गर्दै अध्यक्ष भट्टराईले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे।
पदभारसँगै भट्टराईले सरकार समक्ष १६ बुँदे कार्ययोजना पेस गरेको बताउदै त्यसलाई सार्वजनिक भने नगर्ने बताए।
केही महत्वाकांक्षी कार्ययोजना पेस गरिएकाले त्यसको सम्भावना र कार्यन्वयनका जटिलताका बारेमा अध्ययन गर्न केही समय लाग्ने भन्दै उनले तत्काल सार्वजनिक गर्न नसकेको उल्लेख गरे।
आफू राजनीतिक कार्यकर्ता वा कुनै संघ विशेषको प्रतिनिधिका रुपमा बोर्डमा नरहने बताउँदै भट्टराईले चलचित्रसँग सम्बिन्धित कुनै पनि संघसंस्थामाथि आफ्नो हस्तक्षेप नरहने समेत प्रस्त पारे।
राष्ट्रिय चलचित्र नीति पारित गर्न पहल गर्ने, बक्सअफिसको कार्यन्वयनमा कटिबद्ध भएर लाग्ने, २ वर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार तत्काल सुचारु गर्ने र काठमाडौं उपत्यकामा नै छायाँकन स्टुडियो लगायतका कार्य आफ्नो पहिलो प्राथमिकतामा उल्लेख गर्दै भट्टराईले अबको सम्पुर्ण समय बोर्डका लागी दिने बाँचा समेत गरे।
यसअघि तत्कालीन अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा गत चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले तत्कालीन अध्यक्ष निकिता पौडेल बिना जानकारी बैठकमा अनुपस्थित भएपछि सरकारले उनीमाथि स्पष्टीकरण माग गरेको थियो।
त्यसको दबाबमा परेकी पौडेलको राजीनामा पछि वोर्डको १४औं अध्यक्षका रुपमा भट्टराई नियुक्त भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।