काठमाडौं- फिल्म 'ए मेरो हजुर-२'बाट नेपाली रजतपटमा प्रवेश गरेका अभिनेता हुन् सलिनमान बनिया। झरना थापाको डेब्यु निर्देशनमा बनेकाे फिल्मबाट बनियाकाे पनि डेब्यु भएकाे हाे।
उनले पहिलो फिल्मबाट राम्रो प्रशंसा प्राप्त गरेका थिए। बनियाका साथमा थिइन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह।
आगामी चैत २९ गते बनियाको अभिनय रहेको दोस्रो फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ प्रदर्शनमा आउँदै छ। एक ‘भ्लगर’को रुपमा प्रस्तुत हुने बनियाका साथमा नव अभिनेत्री मलिका महत, सलोन बस्नेतलगायतका कलाकार रहेका छन्।
चकलेटी नायकका रूपमा गनिएका बनियाका लागि फिल्म ‘ए मेरो हजुर-२’ मा जति सहज थियो, उति सहज फिल्मी यात्रामा छैन। किनकि सोही मितिमा बनियालाई डेब्यु गराउने झरना थापाकै निर्देशनमा बनेको दोस्रो फिल्म ‘ए मेरो हजुर-३’ पनि प्रदर्शनमा आउँदै छ।
फिल्ममा अभिनेता अनमाेल केसी र झरनाकै छोरी सुहाना थापाको डेब्यु अभिनय छ।
फिल्मी बजारमा दुइवटै फिल्मलाई अपेक्षित भनिएपनि बक्सअफिमा सफल हुने नहुने भन्ने कुरा प्रदर्शन पछि मात्र थाहा हुन्छ। यसैक्रममा सोमबार एक कार्यक्रम गरी फिल्म ‘यात्रा’को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेता बनियालाई प्रर्दशनकाे तयारीमा रहेकाे फिल्मका बारेमा प्रश्न गरियो, 'तपाँईलाई डेब्यु गराउने निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर-३’ सँग तपाईंको दोस्रो फिल्म एक साथ भिड्दा कस्तो महसुस भइरहेको छ?'
बनियाले जवाफमा भने,‘दर्शकले यसलाई प्रतिस्पर्धाकै रुपमा लिइरहनु भएको छ। पक्कै पनि प्रेसर त छ। जित्ला की हार्ला भनेर पनि कुरा आइरहेको छ। बरु म हार्छु तर भाग्दिन।’
अनमोल केसीतर्फ संकेत गर्दै उनले थपे, ‘मेरो प्रतिस्पर्धा नै नम्बर एकसँग हो नि त! त्यसैले हार्नु भनेको ठुलो कुरा गुमाउनु होइन।’ केही चर्चित फुटबलरको उदाहरण दिँदै बनियाले भने, ‘मेसी वा रोनाल्डो पनि विश्वकपमा हारेका छन्। त्यसको अर्थ यो होइन कि, उनीहरू सबैतिरबाट हारेका हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।