बैंकक, थाइल्यान्ड- सन् २०१४ मा थाइल्यान्डमा सैनिक विद्रोह भएपछि आइतबार पहिलोपटक निर्वाचन सम्पन्न भएको छ। तर यसको मतपरिणाम भने निष्पक्ष हुनेमा शंका रहेको बताइको छ।
आइतबार मतदान कार्यक्रम समापन भएपछि सैनिक शासनकै पक्षधर पार्टी पलाङ प्रचारथ पार्टी अगाडि आउन सक्ने त्यहाँको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरिएको बताएको थियो।
यदि यस्तो परिणाम आएमा वर्तमान प्रधानमन्त्री जनरल प्रायुथ चान-ओचालाई सरकार निर्माण गर्न सहज परिस्थिति निर्माण हुनेछ। तर त्यहाँका स्थानी समाचार संस्थाले भने आयोगले अनुमान गरेभन्दा फरक मत परिणाम आउने पूर्वानुमान गर्दै आएको बताइएको छ।
तर निर्वाचनका सम्बन्धमा धेरै अनियमितता भएको भन्दै टिप्पणी आएका छन्।
थाइल्यान्डमा ९० प्रतिशतभन्दा बढी मतगणना भएको निर्वाचन आयोगले जानकारी दिएको थियो। यसमध्ये करिब ७६ लाख सैनिक शासन समर्थक दल पालाङ प्राचारथ पार्टीले प्राप्त गरेको उनले उल्लेख गरेको थियो। यो मत अर्को प्रतिस्पर्धी दल फेउ थाइ भन्दा करिब ५ लाख बढी हो। फेउ थाइ पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टी हो। यो पार्टीले सन् २००१ पछिका सबै निर्वाचनमा लोकप्रिय मत प्राप्त गर्दै आएको थियो।
प्रारम्भिक मतपरिणाम बताइसकेको निर्वाचन आयोगले मे ९ सम्ममा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिसक्ने बताएको छ।
निर्वाचनका लागि ५ करोडभन्दा बढी योग्य मतदाता रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।