काठमाडौं- भारतीय लोकसभाको निर्वाचन नजिकिँदै गर्दा सरगर्मी पनि बढेको छ। सत्ताधारी दल भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई निसाना बनाई निर्वाचनमा उम्मेद्वार घोषणाका क्रम सुरु भएको छ।
अघिल्लो लोकसभामा बहुमत ल्याउन सफल भाजपा यो पटक सोही रुपमा आउँछ वा आउँदैन भन्ने चर्चा पनि भारतमा सुरु भएको छ। यो अवधिमा मोदीले चलाएको राज्य संयन्त्रबाट पीडित भएको दाबी गर्दै भारतीय किसान, जेएनयुका विद्यार्थी नेता कन्हैयाकुमार र हार्दिक पटेलले उम्मेद्वार हुने घोषणा गरेका छन्। यो क्रम जारी छ। हालसम्म कन्हैया र भारतीय किसानले उम्मेदवार हुने पक्का भएको छ।
मोदी भर्सेस १ सय ११ किसान अभियन्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गलत नीतिका कारण किसानहरु पीडित भएको तर कुनै पनि राहत सरकारले नदिएको भन्दै किसानहरुले आन्दोलन गर्दै आएका थिए। लामो आन्दोलनपछि सरकारले माग सम्बोधन गर्ने वचन दिएपनि त्यसलाई पूरा नगरेको भन्दै १ सय ११ किसानले मोदीको क्षेत्रमा उनीसँग चुनाव लड्ने फैसला गरेका छन्।
आफ्ना मागलाई लिएर दिल्लीमा केही समययता अलग-अलग ढंगबाट सरकारको विरोध गर्दै आएका तामिलनाडुका किसानले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोकसभा निर्वाचनमा उठ्ने निर्णय गरेका समाचार बिबिसीमा छ।
प्रधानमन्त्री मोदीले सन् २०१४ मा बनारस र बंडोदरा दुवै स्थानबाट चुनाव जितेका थिए। यसपटक मोदी बनारसबाट चुनाव लड्दैछन्। सोही क्षेत्रमा किसानका तर्फबाट उम्मेदवारी दिने अन्तिम निर्णयमा आफूहरु पुगेको बताइएको छ।
‘हामी बनारसका जनतालाई देखाउन चाहान्छौं कि किसान कुन हालतमा जीवन बिताइ रहेका छन्,’ किसानका नेता पी. अय्याकन्नुले बीबीसी हिन्दीसँग भने, ‘यदि भारतीय जनता पार्टीले घोषणापत्रमा आफ्ना मुद्दा समावेश गर्ने आश्वासन दिए आफ्नो फैसला बदल्न सक्छौं।’
तामिलनाडुबाट बनारस गएर चुनाव लड्ने फैसला गर्ने १ सय ११ किसानका नेता पी. अय्याकन्नुले भने, ‘म नेसनल साउथ इन्डियन रिवर इन्टर लिंकिङ एसोसिएसनको प्रदेश अध्यक्ष हुँ। हामी चार सय किसानले दिल्ली गएर १ सय ४० दिन उत्पादनमा नाफा हुने मूल्य हुनुपर्छ भन्ने माग गर्यौ,’ उनले भने, ‘हामीले ऋण मिनाहा, र उत्पादनको राम्रो मूल्यको बारेमा प्रधानमन्त्रीसँग आह्वान गर्यौं। तर सरकारले कुनै पनि शर्त मानेन।’
देशभरका किसानका ७५ हजार करोड रुपैयाँ ऋण भएको उनले बताए। सरकारले कर्पोरेट सेक्टरको चार लाख करोड रुपैयाँमात्र माफ गरेको उनको भनाइ छ।
यसले किसानलाई कुनै फाइदा नपुगेको उनको दाबी छ। सरकारले आफ्नो कुरा नसुने चुनावमा उठ्ने र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पराजित गर्ने किसानको भनाइ छ।
हाम्रो माग किसानको कर्जा माफी गर्ने भएको तर सरकारले त्यसको वाचा गरेपनि पूरा नगरेको उनीहरुको आरोप छ।
‘२०१४को चुनावको दौरानमा प्रधानमन्त्री मोदीले कर्जा माफि गर्ने घोषणा गरेका थिए,’ उनले भने, ‘त्यस्तै मोदीले आफू प्रधानमन्त्री भएमा खेतीसँग जोडिएका वस्तुको मूल्य दुई गुणा बढाउने समेत भनेका थिए।’
देशभरका किसानले ७५ हजार करोड रुपैया ऋण लिएका छन् तर सरकारले माफी दिन सकेको छैन,’ उनले भने, ‘तर मोदी सरकार ब्यापारीक घरानाको चार लाख करोड रुपैयाँ माफी गर्न कसरी सक्यो?’
यही मुद्दालाई लिएर किसानले दिल्लीमा १ सय ४० दिनसम्म विरोध प्रर्दशन गरेका थिए। उक्त आन्दोलनपछि वित्तमन्त्री राधाकृष्णले कृषक समूहलाई ५ पटक भेट गरेको र माग पुरा गर्ने आश्वासन समेत दिएको तर त्यसलाई लत्याएको किसानहरुको आरोप छ।
भिख मागेर चुनाव खर्च
किसानहरुले मोदीविरुद्ध उम्मेदवारी दिने पैसा आफूहरुसँग नभएको बताएका छन्। उनीहरुले त्यसको उपाय पनि बनाएका छन्। बनारसको हरेक गल्लीमा भिक मागेर प्रधानमन्त्री मोदी विरुद्ध चुनावमा उत्रने उनीहरुको रणनीति रहेको छ। उनीहरुले २४ अप्रिलमा बाराणसी पुग्ने र २५ अप्रिलसम्म उक्त रकम भिख मागेर संकलन गर्दै उम्मेदवारी दर्ता गराउने उनीहरुको चेतावनी छ।
कन्हैयाकुमार पनि उम्मेद्वार
मोदी सरकार आएदेखि नै खरो आलोचनामा उत्रेका जेएनयुका विद्यार्थी युनियनका नेता कन्हैयाकुमार पनि मोदीको शासनशैलीविरुद्ध चुनावमा उत्रने निश्चित भएको छ। कन्हैयाले मोदीको क्षेत्रमा नभई उनका विश्वासपात्र एवं कट्टर सर्मथक गिरिराजविरुद्ध उत्रने निश्चित देखिएको छ।
कन्हैयाले विहारमा मोदीका उम्मेदवार एनडीएका उम्मेदवार गिरिराज सिंहलाई टक्कर दिने छन्।
विहारमा सीपीआई (माले)ले बेगूसराय सिटमा सीपीआईका सम्भावित उम्मेदवार कन्हैयाकुमारलाई समर्थन गर्ने घोषणा गरिसकेकोले यो प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।
बेगूसरायमा शनिबार सीपीआईको स्टेट क्याबिनेटको बैठकले कन्हैयाकुमारलाई नै सीपीआईले आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको थियो।
यो क्षेत्र वामपन्थी गढ मानिन्छ। तर पछिल्लो पटक यहाँ मोदीले आफ्नो क्षेत्र विस्तार गर्दै आएका थिए। विहार विधानसभाका पहिलो कम्युनिस्ट विधायक पनि यही क्षेत्रबाट चुनिएका थिए।
-एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।