बेइजिङ– पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परि मृत्यु हुनेको सङ्ख्या शनिबार ६४ पुगेको छ।
स्थानीय समयानुसार बिहीबार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ सहरमा अवस्थित रसाययिक कारखाना विस्फोट भएको थियो।
स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट शक्तिशाली थियो।
यस विस्फोटमा परि अझै पनि कैयौं बेपत्ता रहेका र कारखाना विस्फोटको ४० घण्टापछि एक व्यक्तिलाई उद्धार गरिएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन्।
जिआङसु प्रान्तको पूर्वी इलाकामा रहेको याङचेङ सहरमा रहेको औद्योगिक पार्कमा अवस्थित यस कारखाना विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन्।
पूर्णरुपमा ध्वस्त भएको यस कारखानाको भग्नावशेषबाट शनिबार बिहान एक व्यक्तिलाई जिवितै उद्धार गरिएको हो।
उद्धार कार्यपछि ती व्यक्तिलाई अस्पताल लगिएको तर उनको स्वास्थ्य स्थितिको विषयमा भने कुनै विस्तृत विवरण भने दिइएको छैन।
उद्धारकर्ताहरु अझै पनि बेपत्ता रहेका २८ व्यक्तिको खोजी कार्यमा लागेका याङचेङका मेयर चाओ लेबाओले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ।
यद्यपि, विस्फोटमा घाइते भएका करिब ६ भन्दा बढी व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए। ती मध्य २१ जनाको स्थिति चिन्ताजनक रहेको र ७३ जनाको गम्भीर घाइते भएका अपस्पताबाट जारी विज्ञप्तिमा जनाइएको छ।
पाँच सय भन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन्।
चीनमा केही वर्ष यता भएका घातक औद्योगिक दुर्घटना मध्ये यो पनि एक भीषण दुर्घटना बताइएको छ। आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निच्युडको कम्पन मापन गरेको भूकम्प मापन निकायले जानकारी दिएको छ।
विस्फोट निकै शक्तिशाली भएको र आगलागी सुरू भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको थियो।
चीनमा यस्ता उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटनाहरू भइरहेको पाइन्छ। गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन पदार्थ बोकेको एक गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो।
गत वर्ष जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो। हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै एक हजार घाइते भएका थिए।
गत बिहीबार भएको उक्त दुर्घटनाको कारणबारे अनुसन्धानरत रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।