वासिङ्टन- सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी ‘हस्तक्षेप’का बारेमा अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले आफ्नो प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति चुनावमा रुसी प्रभाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानकाबीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले अनुसन्धान गरेको हो।
मुलरले महान्यायाधीवक्ता विलियम बारलाई प्रतिवेदन बुझाएका हुन्। महान्यायाधीवक्ता विलियमले अब प्रतिवेदनलाई संक्षेपीकरण गरी अमेरिकी कांग्रेसमा प्रस्तुत गर्ने अंशबारे निर्णय लिने बताइएको छ।
मुलरको प्रतिवेदनमा कुनै पनि किसिमको गम्भीर आरोप नलाइएको न्याय विभागका अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएकाे छ।
विशेष काउन्सिल मुलरले राष्ट्रपति ट्रम्पका ६ जना पूर्व सहयोगी तथा दर्जनौँ रुसी अधिकारीविरुद्ध यसअघि नै आरोप लगाएका थिए।
महान्यायाधीवक्ता विलियमले कांग्रेसका नेतालाई पत्र लेखेर मुलरको प्रतिवेदनका मुख्य कुरा यहि सप्ताहन्तमा पेस गर्ने जनाएका छन्। मुलरले २२ महिनापछि प्रतिवेदन पेस गरेका हुन्। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।