बेइजिङ- पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ।
स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ सहरमा अवस्थित रसाययिक कारखाना विस्फोट भएको थियो। स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट शक्तिशाली थियो।
यस विस्फोटमा परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका र कारखाना विस्फोटको ४० घण्टापछि एक व्यक्तिलाई उद्धार गरिएको उद्धारकार्यमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन्।
जिआङसु प्रान्तको पूर्वी इलाकामा रहेको याङचेङ सहरमा रहेको औद्योगिक पार्कमा अवस्थित यस कारखाना विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन्।
पूर्णरुपमा ध्वस्त भएको यस कारखानाको भग्नावशेषबाट शनिबार बिहान एक व्यक्तिलाई जीवितै उद्धार गरिएको हो।
उद्धारकर्ताहरु अझै पनि बेपत्ता रहेका २८ व्यक्तिको खोजी कार्यमा लागेका याङचेङका मेयर चाओ लेबाओले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ।
चीनमा केही वर्षयता भएका घातक औद्योगिक दुर्घटना मध्ये यो पनि एक भीषण दुर्घटना बताइएको छ। चीनमा यस्ता उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटनाहरू भइरहेको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।