काठमाडौं– फिल्म ‘पुन्टे परेड’बाट नेपाली रजतपटमा पाइला चालेका अभिनेता हुन् नाजिर हुसेन। जो अहिलेका व्यस्त कलकार मध्येका एक हुन्।
हुसेनलाई पहिलो फिल्मबाट सफलता त मिलेन। यद्यपि, फिल्म ‘होस्टेल रिटर्न्स’बाट भने उनको छवि नै चम्कियो।
रामेश्वर यादवको क्यारेक्टरमा थिए उनी। जसमा हुसेनले दर्शकबाट ‘वाहवाही’ पाए। फ्यान, फलोअर्स बढे।
‘त्यसपछि अभिनय यात्रामा पछाडि फर्केर हेर्न परेन,’ हुसेन मुसुक्क हाँसेर भन्छन्।
हुसेनले त्यसयता ‘जंगे’, ‘वीर विक्रम’, ‘गाँठो’, ‘राज्जा रानी’,‘तिमीसँग’, ‘गरुड पुराण’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्।
उनकै अभिनयमा रहेको ‘कागज पत्र’ शुक्रबारबाट प्रर्दशनमा आएको छ भने ‘वीर विक्रम–२’ छायांकनको क्रममा छ।
तर, एकाध फिल्म बाहेक नाजिर उस्तै क्यारेक्टर, लवज र लाउड अभिनयमा मात्र देखिए। अर्थात्, मधेशी चरित्रमा नाजिरको उपस्थिति उल्लेख्य देखियो।
यस विषयमा नाजिर स्वयम् खुसी छैनन्। भन्छन्, ‘म जुन भुगोल र परिवेशबाट आएँ, त्यहाँको समस्या र व्यक्तिचरित्रको प्रतिनिधित्व गरेर फिल्ममा देखाउन पाउनु भनेको अपनत्व जस्तो लाग्छ। तर ‘मधेशी चरित्रमा मात्र सीमित हुन चाहन्न।’
नाजिर फिल्ममा नयाँ चरित्र निभाउने सोचमा हुन्छन्। तर, आफ्नो अगाडि निर्देशकले ल्याउने स्क्रिप्टमा भने उनको गुनासो छ।
‘जब मेरो अगाडि फिल्मका निर्देशक उही चरित्रको स्क्रिप्ट लिएर आउँछन् अनि भन्छन् 'यो तिम्रै लागि लेखेको हो',’ उनी गुनासो पोख्छन्,‘ स्क्रिप्ट पढ्दा मन पर्छ। तर, आफ्नो क्यारेक्टरमा उही तराईकै फ्लेभर आँउछ।’
यही कारण थुप्रै फिल्म अस्वीकार गरेको नाजिर बताउँछन्।
नेपाली फिल्म उद्योगमा मधेशको प्रतिनिधित्व गर्ने पात्र न्यून संख्यामा छन्। यसको परिपूर्ति भने आफूले गरिरहेकोमा उनी सन्तुष्ट छन्।
भन्छन्, ‘फिल्म रेशम फिलिलीमा कामेश्वर दाइको मुख्य अभिनय थियो तर फिल्म होस्टेल रिटर्न्सको कथानक मधेशी पात्रमा अल्झिएको छ।’
व्यंगात्मक शैलीमा थप्छन् उनी, ‘अडियन्सलाई हिरो भनेको चाँहि गोरो छाला, सफेद वदन, कसिलो, सुगठिलो शरीर चाहन्छ। तर, होस्टल रिटर्न्समा रामेश्वर यादव त्यस्तो क्यारेक्टरमा छैनन् र फिल्मको अन्तसम्ममा उनकै कथामा फिल्म अल्झिएको छ।’
त्यसयता जति फिल्ममा मधेशका पात्र आउन थाले सबैले राम्रो क्यारेटर निभाएको उनी बताउँछन्।
भन्छन्, ‘जहिले पनि ती क्यारेक्टरहरूबाट मलाई गर्व महशुस हुन्छ।’ तर अब भने मधेशी टाइपकास्ट क्यारेक्टरलाई केही वर्ष पन्छाउने सोचमा छन् नाजिर।
भन्छन्, ' फिल्ममेकरलाई भनेको छु– मलाई टाइपकास्ट हुनु छैन। अब अरु क्यारेक्टरमा काम गर्न सक्छु भनेर प्रमाणित गर्न दिनुहोस्।’
नाजिर मधेशी पात्र मात्र नभएर एउटा मुस्लिम समुदायको प्रतिनिधि पात्र पनि हुन्। विरलै मात्र कलाकारिता र अभिनयमा देखा पर्ने यस समुदायको लिड गरिरहेका छन् नाजिर।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कागज पत्र’मा नाजिर मुख्य भूमिकामा छन्। उनको अपोजिटमा छिन् अभिनेत्री शिल्पा मास्के।
फिल्ममा नाजिर मधेशी पात्रको रुपमा छैनन्। उनी एक दलाल दङ्गेली ठिटो (केशव)को रुपमा प्रस्तुत छन्।
उक्त क्यारेक्टरले करियरमा अर्को एक सशक्त इँटा थप्ने विश्वासमा छन् नाजिर।
मुस्कुराउँदै भन्छन्, ‘फिल्मको गीत र ट्रेलरमा दर्शकले देखाउनु भएको मायाले आफू स्थापित हुनेमा ढुक्क छु। त्यसैले अन्य क्यारेक्टरमा घृणा गर्ने दर्शकहरूले पनि कस्तो मायालु नाजिर हुसेन चाँहि पक्कै भन्नु हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।