काठमाडाैं- काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला सुरु भएको छ।
कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले शुक्रबार एक कार्यक्रमबीच २२औं पुष्प मेलाको उद्घाटन गरेकी हुन्।
पुष्प व्यवसायको अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि मेला आयोजना गरिएको फ्लोरिकल्चर एसाेसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए। उनले पुष्प मेलालगायतका मेलाहरुको प्रदर्शनीका लागि तत्काल प्रदर्शनी स्थलको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।
भृकुटीमण्डपमा रहेको प्रदर्शनी स्थलको भौतिक पूर्वाधारसमेत जीर्ण रहेकाले पनि सरकारले प्रदर्शनीका लागि छुट्टै स्थलको व्यवस्था गर्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो मेलामा ४८ वटा स्टल रहेका छन्।
आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलका बिरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ। ३ दिनसम्म चल्ने मेलामा करीब ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।