काठमाडौं– चीनले अघि सारेको महत्वकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई)को दोस्रो सम्मेलन पनि भारतले बहिस्कार गर्ने भएको छ।
आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताको मूल चासोलाई बेवास्ता गरी अघि सारिएको परियोजनालाई कुनै पनि देश सहभागी हुन नसक्ने भन्दै भारतले यसपाली पनि सम्मेलन बहिस्कार गर्ने संकेत गरेको हो।
सन् २०१७ मा आयोजना गरिएको पहिलो बीआरआई सम्मेलन पनि भारतले बहिस्कार गरेको थियो। बेइजिङले विवादास्पद कास्मिर क्षेत्र हुँदै जाने चीन–पाकिस्तान आर्थिक करिडोर प्रस्ताव गरेको भन्दै भारतले सम्मेलनमा सहभागि हुने अस्वीकार गरेको थियो।
चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्ससँग कुरा गर्दै चीनका लागि भारतीय राजदूत बिक्रम मिश्रीले बुधवार भनेका छन्, ‘कनेक्टिभिटी पहलले राष्ट्रको सार्वभौमिकता, समानता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्छ।’
चिनियाँ विदेशमन्त्री वाङ यीले केही दिनअघि अर्को महिना दोस्रो बीआरआई सम्मेलन आयोजना गर्ने र त्यसमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसमेत सहभागी हुने जानकारी दिएका थिए।
‘आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताको मूल चासोलाई बेवास्ता गरी अघि सारिएको पहललाई कुनै पनि देश सहभागी हुन सक्दैनन्,’ बीआरआईमा भारतको चासो र दास्रो सम्मेलनमा भाग लिने–नलिने बारे सोधिएको प्रश्नमा राजदूत मिश्रीले भने।
उनले बीआरआई विश्वव्यापी रुपमा स्वीकार गरिएको मानक, सुशासन र कानुनी साशानमा आधारित हुनुपर्ने आफ्नो मान्यता भएको उनले बताए।
बीआरआई चिनियाँ राष्ट्रपछि सी जिनपिङले अघि सारेको महत्वकांक्षी परियोजना हो। यो परियोजनाले एसिया, मध्यपूर्व ल्याटिन अमेरिका र अफ्रिकाका करिब १ सय ५२ देशलाई छुन्छ।
चिनियाँ राष्ट्रपति सीले सन् २०१३ मा यसको औपचारिक घोषणा गरेका थिए। भारतसहित अमेरिका र अन्य केही देशले बिआरआई परियोजनाले साना देशलाई ऋणको पासोमा पार्ने भन्दै शंकाको नजरले हेर्ने गरेका छन्।
नेपाल भने बीआरआईको सदस्य बनिसकेको छ। नेपाल र चीनबीच सन् २०१७ मा बीआरआई परियोजनामाथि हस्ताक्षेर भएसँगै नेपाल औपचारिक रुपमा बीआरआईमा प्रवेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।