महाभारत छोडेर छत्रपति शिवाजीतर्फ आमिर

नेपाल लाइभ | २०७५ चैत ८ शुक्रबार | Friday, March 22, 2019 ०६:५०:०० मा प्रकाशित

एजेन्सी– बलिउड सुपरस्टार आमिर खानले आफ्नो ५४औं जन्मदिनको अवसर पारेर फिल्म ‘लाल सिंह चढ्ढा’ बनाउने घोषणा गरे। यो हलिउडको हिट फिल्म ‘फरेस्ट गंप’ को हिन्दी रिमेक हो। आमिरको यो फिल्मको निर्देशन अद्वेत चन्दनले गर्दैछन्।

पछिल्ला केही दिनदेखि आमिरले आफ्नो महत्वाकांक्षी योजना ‘महाभारत’ बनाउने चर्चा चल्दै आएको थियो। उनले ७ सिरिजको महाभारत बनाउने योजना सार्वजनिक भएको थियो। उनले महाभारतमा कृष्णको भूमिका आफैंले गर्ने बताएका थिए। तर लाल सिंह चढ्ढाको घोषणापछि महाभारतको विषयमा तत्काल बिराम लागेको छ।

यसैबीच पछिल्लो समाचार अनुसार आमिर खान छत्रपति शिवाजी महाराजको भूमिकामा अभिनय गर्न आतुर छन्। शिवाजीको वीरतापूर्ण कहानीबाट निकै प्रभावित छन् आमिर। त्यसैले उनी महाभारत र लाल सिंह चढ्ढालाई छोडेर पहिला छत्रपति शिवाजीमा काम गर्ने तयारीमा रहेको समाचार एजेन्सीहरुले जनाएका छन्।