बेइजिङ- अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टिभन मनचिन दुइ दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीया वाणिज्य मन्त्रालयले जनाएको छ। दुबै देशबीच उत्पन्न व्यापारिक तनाव सुल्झाउन सम्झौता गर्नेगरी प्रयास भइरहेको छ।
मन्त्रालयका प्रवक्ता गाओ फेङले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिहरु फर्किएलगत्तै अप्रिलमा चिनीया उपप्रधानमन्त्री लिऊ हे व्यापार वार्ताका लागि अमेरिका जानुहुने जानकारी दिए।
वासिङ्टन र बेइजिङले व्यापार सम्झौतालाई अन्तिम स्वरुप दिन सङ्घर्ष गरिरहेका छन्। अमेरिकी प्रतिनिधिले चिनियाँ औद्योगिक नीतिमा व्यापक फेरबदल हुनुपर्ने माग गरिरहेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पनि अमेरिकी करवृद्धिलाई अझै निरन्तरता दिइरहने बताएका छौं। चीनले व्यापार वार्तामा प्रगति भएसँगै जतिसक्दो चाँडो अमेरिकी करवृद्धि फुकुवा हुने अपेक्षा गरेको थियो।
विगत ८ महिनादेखि संयुक्तराज्य अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमाथि करवृद्धि गरेका छन्।
यस करवृद्धिले दुबै मुलुकको उत्पादन क्षेत्रमा नकारात्मक असर परेको छ।
शुक्रबार मात्र चीनको जनकङ्ग्रेसले बौद्धिक सम्पत्तिको संरक्षणलाई विशेष प्राथमिकता दिनेगरी नयाँ वैदेशिक लगानी कानुन पारित गरेको थियो। चीनको उक्त कानुनका बारेमा अध्ययन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।