काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरस्थित बिग मुभिजमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन्। फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली बुधबार साँझ उक्त चलचित्र हेर्न हलमा पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।
प्रधानमन्त्री ओली हल पुग्दा चलचित्रका निर्देशक दिवाकर भट्टराई, निर्माता भुवन केसी, नायक अनमाेल केसी तथा नायीकाहरु सुप्रियंका एमबी र उपासना सिंह ठकुरीले स्वागत गरेका थिए। निर्माता केसी लगायतले प्रधानमन्त्रीलाई हाेलीकाे शुभकामना दिँदै अबिरसमेत लगाइदिएका थिए। साेपश्चात् प्रधानमन्त्री ओलीले पनि निर्माता, निर्देशक, नायकनायिका लगायतलाई अबिर लगाइदिएका थिए।
नेपाली चलचित्रका स्थापित नायक भुवन केसीले निर्माण गरेको उक्त चलचित्रमा फुटबल खेलसँग आधारित कथावस्तु रहेको छ। नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ।
एउटा राम्रो प्रतिभा भए पनि फुटबल क्षेत्रमा स्थापित हुन कति चुनौति र सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उक्त चलचित्रमा प्रतिभाको पहिचान गर्ने सामर्थ्य बढाउन पनि आवश्यक रहेको देखाएको छ।
मुलुकमा कानुन र नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयमा देखिएको समस्याको पक्षलाई पनि चलचित्रले उजागर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।