चितवन- चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डंगर गिद्धले अण्डा पार्न थालेका छन्।
गत वर्ष १५ वटा गिद्धले अण्डा पारेका थिए भने यस वर्ष एउटा गिद्धले अण्डा पारिसकेको छ। नोभेम्बर/डिसेम्बर महिनामा अण्डा पार्ने भए पनि यस वर्ष केही छिटो अण्डा पारेको हो।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार केन्द्रमा ५७ वटा गिद्ध रहेका छन्। गत वर्ष १५ वटा अण्डा पारेको भए पनि ९ वटाबाट मात्रै बच्चा कोरलिएका थिए। तीमध्ये ८ वटा जीवितै रहेका छन्।
केन्द्रमा २५ वटा भाले र २४ वटा पोथी गिद्ध रहेको खड्काले जानकारी दिए। ८ वटा बच्चाको लिंग पहिचान हुन सकेको छैन। गिद्धको डिएनए परीक्षणबाट मात्रै भालेपोथी छुट्याउन सकिने उनले बताए। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा डिएनए परीक्षण गरी लिंग पहिचान गरिँदै आएको छ।
१९ गिद्धलाई छाडिने
चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो। यहाँ संरक्षण गरी हुर्किएका गिद्धलाई क्रमशः प्रकृतिमा छोड्ने योजना रहेको छ। सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो। यद्यपि ढिलागरी सन् २०१६ मा छाड्ने भनिएको ६ वटा गिद्ध गत वैशाख २ गते नवलपरासीमा रहेको जटायु रेस्टुराँ नजिक खोर निर्माण गरी राखिएको छ। तिनीहरुलाई प्रकृतिमा रहेका गिद्ध सँगसँगै खाने व्यवस्था गरिएको छ। जसका कारण उनीहरुलाई प्राकृतिक रुपमा कसरी खाना खाने र प्रकृतिसँग घुलमिल हुने भन्ने बारेमा सिक्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए।
आगामी नोभेम्बरमा जटायु रेस्टुराँमा रहेका ६ वटा गिद्धलाई प्रकृतिमा खुला छाडिने योजना रहेको छ। तिनीहरुलाई छाडिसकेपछि पुनःप्रजनन केन्द्रबाट ५ वटा गिद्ध जटायु रेस्टुराँ लगिने कँडेलले जानकारी दिए।
यो समेत १९ वटा गिद्ध प्रकृतिमा छाड्न लागिएको हो। प्रकृतिमा छाड्ने गिद्धलाई रेडियो कलरसमेत जडान गरिएको छ। अति संकटापन्न अवस्थामा रहेको डंगुर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ। विश्वमै पहिलोपटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न लागिएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।