काठमाडौं- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी बैसाख २ गते नवौँ राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा आयाेजना गर्ने भएको छ। उक्त प्रदर्शनीमा देशभरका कलाकारले सिर्जना गरेका आधुनिक तथा परम्परागत चित्रकला, आधुनिक तथा परम्परागत मूर्तिकला, लोककला, हस्तकला र अन्य सिर्जनात्मक कला समावेस गरिनेछ।
मङ्गलबार एक पत्रकार सम्मेलन आयाेजना गरी प्रदर्शनी सम्पन्न गर्न कुलपति केके कर्माचार्यको अध्यक्षतामा ६७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिइएकाे थियाे। कुलपति कर्माचार्यले प्रदर्शनीका लागि सहभागी गराइने कलाकृति दुई वर्षभित्र रचना गरेको र राष्ट्रियस्तरको प्रदर्शनीमा समावेस नभएको हुनपर्ने व्यवस्था गरिएको बताए।
प्रदर्शनीमा सहभागी हुने कलाकारले यही चैत १५ गतेभित्र प्रतिष्ठानमा सिर्जना पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ। प्रत्येक विधामा एक जनालाई नगद ६० हजार रुपैयाँ राष्ट्रिय ललितकला पुरस्कार र दुई जनालाई नगद २५ हजार रुपैयाँको विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
प्रत्येक प्रदेशबाट एक/एक जनालाई नगद २५ हजार रुपैयाँको प्रदेश विशेष पुरस्कार प्रदान गरिने छ। साथै नगद २५ हजार रुपैयाँको ललितकला लेखन पुरस्कार तथा सोही राशिको ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिने छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।