लाहोर – पाकिस्तानले ८ वर्षपछि घरेलु भूमीमा शीर्ष अन्तर्राष्ट्रिय क्रिकेट टिमसँग प्रतिस्पर्धा गरेको छ। सन् २००९ मा श्रीलंकाली टिम सवार बसमाथि लाहोरमा आतंकवादी हमला भएपछि पाकिस्तानमा शीर्ष टिमबीचको अन्तर्राष्ट्रिय खेल हुन सकेको थिएन।
८ वर्षपछि लाहोरमै श्रीलंकासँग पाकिस्तानले टी–२० खेल खेलेको हो । खेलमा पाकिस्तानले ३६ रनको जित निकालेर ३ खेलको सिरिज क्लिन स्विप गर्न सफल भयो। यसअघिका दुई टी–२० खेल भने युएईमा भएका थिए।
पहिले ब्याटिङ गरेको पाकिस्तानले ३ विकेटको क्षतिमा १ सय ८० रन जोड्यो। जवाफि ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन मात्र जोड्न सक्यो।
८ वर्षअघि भएको हमलापछि पाकिस्तानले युएइमा खेल्दै आएको छ।
सन् २००९ मा श्रीलंकाली टिमको बसमाथि लाहोरमा आतंकवादी हमला भएको थियो। घटनामा ८ सर्वसाधारणले ज्यान गुमाएका थिए। श्रीलंकाका ७ खेलाडी र स्टाफ घाइते भएपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट रद्द भएको थियो।
श्रीलंकाली टिम शनिबार लाहोर पुग्दा कडा सुरक्षा व्यवस्था प्रदान गरिएको थियो। खेलाडी बसेको पाँचतारे होटलमा बम निरोधक दस्ता तैनाथ गरिएको थियो। सुरक्षा खतरालाई मध्यनजर गर्दै टिमका वरिष्ठ खेलाडी तथा मुख्य प्रशिक्षक यो भ्रमणमा थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।