भैरहवा- जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सवारी साधनका चालकलाई सडक सुरक्षाको सपथ खुवाएको छ। नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षाप्रति जवाफदेही बन्न चालकहरूलाई सपथ खुवाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी निरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयुक्त आयोजना भैरहवाको बुद्धचोकमा सवारी चालकहरूलाई ८ बुँदे सपथ खुवाइएको हो।
चालकलाई ‘म जिम्मेवार यातायात मजदुर’ अन्तर्गत ८ बुँदे सपथ खुवाइएको प्रहरी निरीक्षक पौडेलले बताए।
चालकले छातीमा हात राखेर मादक पदार्थ सेवन गरेर सवारी चलाउँदिन, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिन, महिला बालबालिका, अशक्त र वृद्धवृद्धालाई सम्मान गर्छु, बालश्रम प्रयोग गर्दिन, तीव्र गतिमा सवारी चलाउदिनँ, तोकिएभन्दा बढी भाडा लिन्न, सबैसँग सभ्य भाषा प्रयोग गर्छु, ट्राफिक नियमको पालना गर्छु भन्दै सपथ खाएका थिए।
'दुर्घटना न्यूनीकरणका लागि तपाईंहरुको भुमिका महत्वपूर्ण हुन्छ, लापरबाहीले सवारी साधान नचलाउनुस्,' चालकलाई सपथ खुवाउँदै प्रहरी निरीक्षक पौडेलले भने, 'तपाईंले लिएको सपथ नबिर्सिनुहोला। उनले चालकहरुले लिएको सपथ नभुले मात्रै पनि सवारी दुर्घटना न्यूनीकरण हुनेछ।'
८ बुँदे सपथलाई स्टिकर बनाएर सवारी साधनमा समेत टाँसिएको छ। यसले सपथ सम्झन सहयोग गर्ने विश्वास लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक नारद कार्कीले बताए।
दुर्घटना न्यूनीकरणका लागि चालकलाई यस क्षेत्रमा पहिलो पटक सपथ खुवाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।