काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएका एक उपसचिव (आठौं तह) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
जनकपुर अञ्चल अस्पताल, धनुषामा कार्यरत आयुर्वेद अधिकृत (आठौं तह) का मिथिलेशकुमार यादव विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कार्यरत रहेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा उपसचिव यादवले बिहार बिद्यालय परीक्षा समिति, पटना, भारतबाट प्राप्त इण्टरमिडियट आइएस्सी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर देखिन आएको हुँदा सोही बमोजिक कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।