गिरोना– स्पेनिस ला लिगामा साबिक विजेता रियल म्याड्रिड पराजित भएको छ। रियललाई नवप्रवेशी गिरोनाले २–१ गोलले पराजित गरेको हो।
खेलको १२ मिनेटमा इस्कोले गोल गरेर रियललाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा घरेलु टिम गिरोनाले उत्कृष्ट खेल पस्कँदै नतिजा उल्टाउन सफल भयो। ५४ मिनेटमा क्रिस्टियन स्टुआनीले बराबरी गोल फर्काएका थिए। पोर्चुगिज मान्जानेरले ५८ मिनेटमा अर्को गोल गरेपछि गिरोनाले २–१ को अग्रता लियो।
पहिलो पटक ला लिगा खेलिरहेको गिरोनाले रियलमाथि पनि पहिलो जित निकाल्न सफल भयो।
हारसँगै रियलका तीन वटा रेकर्डमा पूर्णविराम लागेको छ। रियलको नवप्रवेशी क्लबसँगको अवे खेलमा ५८ जितको यात्रा सकिएको छ। सन् २००८ मा अल्मेरिया विरुद्धको अवे खेलमा पराजित भएपछि रियलले नवप्रवेशी क्लबलाई पराजित गर्दै आएको थिये ।
रियलको १३ अवे जितको यात्रा पनि टुंग्गिएको छ । १३ अवे जित निकालेर रियल अवे खेलमा बढी खेलसम्म अपराजित हुने टिमको रेकर्ड बनाएको थियो।
यस्तै जिनेदिन जिदानको प्रशिक्षणमा रियलले तेस्रो पटक अग्रता लिएर पनि खेल गुमायो। यसअघि जिदानको प्रशिक्षणमा रियलले सेभिल्ला र बार्सिलोनाबिरुद्धको खेल गुमाएको थियो ।
हारसँगै रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ८ अंकले पछि परेको छ। बार्सिलोनाको १० खेलबाट २८ अंक छ। दोस्रो स्थानको भ्यालेन्सियाको २४ छ भने तेस्रो स्थानको रियलको २० अंक छ। गोलअन्तरमा पछि परेको एट्लेटिको म्याड्रिडको पनि २० अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।