गोवा– गोवाका मुख्यमंत्री मनोहर पर्रिकरको निधनपछि विधानसभाका सभामुख प्रमोद सावन्तले मुख्यमन्त्रीको पदभार ग्रहण गरेका छन्। मंगलबार बिहान पौने २ बजे राजभवनमा एक विशेष समारोहका बीच सावन्तले पद तथा गोपनियताको सपथ लिएका हुन्।
सावन्तका अलावा ११ जना सांसदले पनि मन्त्री पदको सपथ लिएका छन्। जसमध्ये महाराष्ट्रवादी गोमान्तक पार्टी (एमजिपी) का सांसद सुधिन धवलिकर र गोवा फरवार्ड पार्टी (जिएफपी)का अध्यक्ष एवम् सांसद विजय सरदेसाई खास छन्। सपथ लिने बाँकि मन्त्रीहरु पर्रिकर सरकारमै रहेका मन्त्री रहेको बताइएको छ।
सामाचारमा जनाइए अनुसार धवलिकर र सरदेसाईलाई उप-मुख्यमन्त्री पदको जिम्मेवारी दिइनसक्ने बिबिसीले लेखेको छ।
सोमबार पर्रिकरको अन्तिम संस्कारपछि गोवामा राजनीतिक सरगर्मी बढेर गएको थियो। आइतबार साँझनै केन्द्रीय मन्त्री नितिन गडकरी गोवा पुगेका थिए। सोमबार अबेरसम्म चलेको छदफलपछि मंगलबार बिहानै मन्त्री गडकरी सत्तारुढ पार्टी र अन्य सहयोगाी पार्टीका सांसदहरुको समर्थन पत्र लिएर राजभवन पुगेका थिए।
पर्रिकरको मृत्युपछि सदनमा बीजेपी सरकारको पक्षमा अल्पमत रहनसक्ने आशंका गरिएको थियो। बिजेपीका सहयोगी पार्टीहरु एमजीपी र जीएफपीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइएको थियो। तर, बिजेपीले दुबै पार्टीलाई आफ्नो पक्षमा राखिराख्न सफल भयो।
४० जना सांसद संख्या रहेको गोवा विधानसभामा अहिले ३६ जना मात्र सांसद छन्। सदनमा भारतीय कांग्रेसका १४ र बिजेपीका १२ सांसद छन्। एमजिपी र जिएफपीका तीन/तीन जना सांसद छन् जसको समर्थन बिजेपी सरकारलाई थियो। यसअलावा ३ जना स्वतन्त्र सांसदहरु पनि बिजेपी सरकारको पक्षमा थिए।
संसदमा कांग्रेस सबैभन्दा ठूलो दल हो। यसकारण पनि उसले सरकार निर्माणका लागि आफ्नो पनि बहुमत पुग्ने दाबी गरेको थियो। यही दाबीअनुसार नै कांग्रेसले गोवाकी राज्यपाल मृदुला सिन्हालाई एक चिट्ठी लेख्दै बिजेपीको नेतृत्वमा रहेको सरकार भंग गर्न माग गरेको थियो।
‘राज्यको सबैभन्दा ठूलो पार्टी भएका कारण कांग्रेसलाई सरकार बनाउन निम्तो दिइयोस्’, पत्रमा भनिएको छ।
‘आज म जहाँ छु, पर्रिकरकै कारण छु’
शपथ ग्रहण समारोहमा जानुभन्दा अघि पत्रकारहरुसँग कुराकानी गर्दै सावन्तले पार्टीले आफूलाई दिएको ठूलो जिम्मेवारीलाई पुरा मेहनतका साथ निभाउने बताए।
दिवंगत पूर्वमुख्यमन्त्री पर्रिकरका बारेमा बोल्दै सावन्तले भने, ‘आज म जहाँ छु, पूर्व मुख्यमन्त्री मनोहर पर्रिकरका कारण नै छु।’ उनले आफू पर्रिकरका लागि नै यहाँसम्म आइपुगेको बताए।
भने, ‘म यहाँ पर्रिकरजीका लागि नै छु। उहाँले नै मलाई राजनीतिमा ल्याउनु भयो। उहाँले नै मलाई सभामुख बनाउनुभयो। अहिले उहाँकै लागि म मुख्यमन्त्री बन्न गइरहेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।