प्रयागराज- भारतीय राष्ट्रिय कांग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गरेकी छिन्।
उत्तर प्रदेशको मैयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उनले ३ दिने यात्रा सुरु गरेकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनको यात्रा काशीसम्म हुनेछ।
'गंगा मैयाले हामीलाई आर्शिवाद दिनुहुने छ, उहाँ धेरै दयालु हुनुहुन्छ', महासचिव प्रियंकाले पत्रकारहरुसँग भनिन्।
उनले गंगा यात्राको पहिलो दिन बादे हनुमान जी मन्दिरका भक्तालु र त्रिवेणी संगमका तिर्थालुहरुसँग यात्रा गरेकी छिन्। यात्राका क्रममा उनी डुम्डामाघाट, सिर्साघाट, लोकशाग्रिहघाट र सीतामार्हीघाट लगायतका ठाउँमा रोक्दै गएकी थिइन्।
उनको साथमा पार्टी प्रवक्ता अखिलेश प्रताप सिंह, विधानसभा सदस्य आरधाना मिश्र, संघीधावित्रि बै फुले र केही विद्यार्थीहरु छन्।
फुले सन् २०१४ को निर्वाचनबाट लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीबाट निर्वाचित भएका थिए। उनी अहिले भने कांग्रेस पार्टीमा छन्। यही मार्च २ तारिखका दिन उनी कांग्रेस प्रवेश गरेका हुन्।
गान्धीको यो यात्रालाई जनताका बीचमा जाने माध्यमका रुपमा लिइएको छ। आम नागरिकलाई राजनीतिक नेताहरुले प्राथमिकता नदिने गरेको भन्दै उनले जनतासँग संवाद गर्ने बताइन्। भ्रमणका क्रममा उनले माझी र नदीका छेउछाउमा रहेका नागरिकसँग अन्तरक्रिया गरेकी थिइन्।
'यो एक पक्षीय मन्तव्य सुनाउने यात्रा हुनेछैन, जनतासँग दोहोरो छलफल र वार्ता हुनेछ', उत्तर प्रदेशका कांग्रेस अध्यक्ष राज बाब्बारले ट्विटरमा लेखेका छन्। यात्रामा आम नागरिकसँगको संवादलाई प्राथमिकता दिइएकाे बताइएकाे छ।
स्टिमर डुङ्गाबाट हुने उनको यो यात्रा झन्डै १ सय ४० किलोमिटर लामो हुने नेताहरुले बताएका छन्। भारतको उत्तर प्रदेशमा आगामी अप्रिल ११ देखि मे २३ सम्म विभिन्न चरणमा मतदान हुने तय भएको छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।