बार्सिलोना- क्याटलोनिया स्वतन्त्र भएकोमा यहाँको एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली सहरहरूमा खुसी मनाइरहेका समयमा आइतबार बार्सिलोनामा स्पेनसँगको एकताको पक्षमा दसौं हजार क्याटोलोनियालीले प्रदर्शन गरेका छन्।
‘भिभा स्पाना’ भन्ने नारा लगाउँदै आफूहरू स्पेनसँग छुट्टिन नचाहेको र केही विखण्डनकारी नेताले आफ्ना पितापुर्खाले स्थापना गरेको स्पेनी भूभागलाई टुक्राउन लागेको उनीहरुले प्रतिक्रिया दिएका छन्।
'मेरो सहरमा स्पेनी झन्डासहितको घर छोड्न म कदापि तयार छैन,' क्याटलोनियाको स्वतन्त्रता घोषणापछि क्रोधित बनेकी गिरोनीकी १९–बर्षीया विद्यार्थी मारिना फर्नान्डिजले भनिन्, 'म मेरा पुर्खाले स्थापना गरेको मुलुकमा विखण्डनकारी समूहले गरेका क्रियाकलापबाट साह्रै बेखुसी छु।'
गाउदी सहरमा जम्मा भएका प्रदर्शनकारीले क्याटलोनियालाई स्वतन्त्र बनाउने अभियानको नेतृत्व गरेका कार्ल्स पुज्डमोन्डलाई कैद गरी स्पेनी जनताको एकताको समर्थनप्रति सम्मान गर्नुपर्ने बताए।
क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा शुक्रबार भएको गोप्य मतदानलाई एकताका पक्षधरहरूले बहिष्कार गरेका थिए। संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको थियो भने विपक्षमा १० मत परेको थियो। दुई सांसद्ले मतदानमा मतपत्रलाई खाली खसालेका थिए।
मतदानपछि क्याटलोनियाको स्वतन्त्रताको नेतृत्व गरेका नेताहरूले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको बताएका छन्। तर केन्द्र सरकारले क्षेत्रीय सरकारलाई बर्खास्त गरी प्रत्यक्ष शासन सुरु गरेको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।