दाङ- झट्ट हेर्दा तपाईं-हाम्रै घरआँगनमा पाइने कुखुरा वा भाले जस्तै देखिन्छ। तर, यो विशेष प्रकारको कुखुरा हो।
धेरैलाई कौतुहल हुन पनि सक्छ, के विशेष होला यो कुखुरामा!
बोकालाई खसी बनाए जस्तै जब भाले तीन महिनाको हुन्छ, शल्यक्रिया गरी अण्डकोष निकालिन्छ। यस्तो भालेलाई स्थानीय भाषामा बधिया अर्थात् 'कुखुराको खसी' पनि भनिन्छ।
यस्तो किसिमको कुखुरा दाङमा मात्र उत्पादन हुने गरेको छ भने अन्य जिल्लामा पनि छिटफुट रुपमा यसको अभ्यास सुरु भएको छ।
‘यो खासमा दाङको मौलिक उत्पादन हो। यस्तो कुखुरा दाङमा पाइन्छ। तर हिजोआज अरु ठाँउमा पनि सुरु भएको छ,' घोराहीको बडहरामा व्यावसायिक रुपमै बधिया भाले फार्म सञ्चालन गर्दै आएका हर्कबहादुर चौधरी भन्छन्, ‘जति उत्पादन गरे पनि बजार पुर्याउन सकेको छैन।’
उनको फार्ममा बधिया बनाइएको कुखुराको माग अन्य जिल्लामा समेत छ।
‘नेपालगन्ज, काठमाडौं र पोखराबाट मगाउने गरेका छन्,' चौधरीले भने, ‘साढे २ देखि ३ किलोसम्मको भएपछि खान योग्य हुन्छ। अन्य कुखुराको तुलनामा महँगो हुने भएकाले अहिले पारखीहरुले मात्र खाने गरेका छन्।’

चल्ला ३ महिना पुगेपछि बधिया बनाउनका लागि तयार हुन्छ। बधिया बनाएको कम्तीमा पनि ४ देखि ६ महिनामा त्यो खानलायक हुने गरेको छ।
बधियाको माग बढी भएको र मूल्य पनि बढी पाइने हुँदा दाङमा अहिले यसको व्यावसायिक पालन सुरु गरिएको छ।
लोकल जातको कुखुरालाई शल्यक्रिया गरी बधिया बनाइने र कतिपय कुखुराको शल्यक्रिया असफल हुँदा मर्ने भएकोले यो व्यवसायमा त्यत्तिकै चुनौती पनि छ। ‘जसले पायो त्यसले बनाउन जान्दैनन्, अण्डकोष निकालेपछि कतिपय भाले मर्छन्, त्यस्तो बेलामा घाटा लाग्छ,' चौधरीले प्रस्टयाए, ‘त्यही भएर पनि यो कुखुराको भाउ बढी भएको हो।’
सामान्यतया मासु वा कुखुरा खरिदबिक्री गर्दा किलोको हिसाबले विक्री वितरण हुने भए पनि बधिया खरिदबिक्रीमा गोटाको २५ सयदेखि ३५ सयसम्म पर्ने गरेको उनी बताउँछन्।
करिब ६ वर्षअघि सामान्य रुपमा ८–१० वटा कुखुरा पाल्न सुरु गरेका कृषक हर्कबहादुर चौधरीको फार्ममा अहिले करिब ३ सय बधिया भाले छन्।
उनको यो व्यवसायमा जिल्लाको पशु सेवा कार्यालयका प्राविधिकहरुले सघाउने गरेका छन्। उनको सिको गर्दै अहिले दाङमा अन्य कृषकले पनि बधियाको व्यावसायिक पालन सुरु गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।