काठमाडौं– जेन–जी नेता रक्षा बमले गृहमन्त्री गुरुङलाई बेलैमा सच्चिन सुझाव दिएकी छन् ।
गृहमन्त्रीको सम्पत्तिमाथि उठेका प्रश्न र उनले 'गरिब भएर मर्नु पो गल्ती' भनेर दिएको जवाफलाई लक्षित गर्दै बमले यस्तो सुझाव दिएकी हुन् ।
बमले भनेकी छन्, 'जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो । आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र ? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो । बेलैमा सच्चिनुस् ।'
उनले थप भनेकी छन्, 'फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो । आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन ।'
बमले अहिले नेपालका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको दृष्टान्त पेस गर्दै गृहमन्त्रीलाई भनेकी छन्, 'तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ । गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ । जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।