काठमाडौं- घुस लिएको प्रमाणसहित अख्तियारको दुरुपयोग अनुसन्धान आयोगले आयोगमा नै कार्यरत एक जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीले आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखीदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेका थिए।
अधिकारीले सेवाग्राहीसँग एक लाख घुसबापतको रकम माग गरेको प्रमाणसहित नियन्त्रणमा लिई अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।
आयोगमा विचाराधीन अवस्थामा रहेको सेवाग्राही विरुद्ध बाटो ग्रावेल गर्दा अनियमितता गरेको सम्बन्धमा परेको उजुरी कारबाही प्रक्रिया सहजीकरण गरी दिने भनी सेवाग्राहीसँग अधिकारीले घुस लिएका थिए।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ बमोजिमको कसुर अपराध गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम हुने सजाय माग गर्दै मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।