डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका–६ दिव्यपुरमा विद्युत लाइनका तार र पोल अव्यवस्थित हुदाँ जोखिम बढेको छ।
अधिंकाश पोल ढलेर तारले भुइँ छुने त्रास भएको स्थानीयको गुनासो छ।
निरन्तर करेन्ट प्रवाह भइरहेको पुडिलको ११ भोल्टेज विद्युत लाइनले अधिकांश रूख र सडकलाई छुने हुँदा जोखिम बढेको हो।
त्यसैगरी राजुल सामुदायिक स्वास्थ्य इकाई नजिकै रहेको पोलमाथि राख्नुपर्ने टान्र्सफरमर जमिनमै राखिएको छ। सम्बन्धित निकायको बेवास्ताकै कारण एक स्थानीय करेन्ट लागेर घाइते समेत भए।

कति बेला कसको ज्यान जान्छ भन्ने डरले आफूहरूलाई सताउने गरेको सामुदायिक स्वास्थ्य ईकाइमा कार्यरत अनमी सिता बोगटी पालले बताइन्।
‘रात अबेरसम्म आवतजावत गर्नुपर्छ। बाटैमा टान्र्सफर्मर छ। बाटो मै केही भइदिहाल्यो भने,’ उनले डर पोखिन्।
यता चेतना मावि प्रांगणमा रहेको पोलमै करेन्ट आएपछि विधार्थीलाई अध्ययनमै समस्या भएको प्रधानाध्याक ओम प्रकाश पन्तले बताए। उनले भने, ‘विद्यालयले ५० मिटर मात्र पर रहेको वडा कार्यालयलाई पटक पटक जानकारी गराए पनि केही सुनुवाइ भएन।’

वडा कार्यालय नजिकैको सडकमा पनि हातमाथि गर्दा तार छोइने खतरा कायम छ।
स्थानीयका अनुसार यो समस्या आएको करिब ३ बर्ष भयो।
२०६१ सालमा निर्माण भएको विद्युत लाइन करिब दश वर्षपछि मात्र सुचारु भएको थियो।
वडा कार्यालयले पटक पटक नेपाल विद्युत प्राधिकारण वितरण केन्द्र डडेल्धुरालाई लिखित र मौखिक निवेदन पेस गर्दा पनि बेवास्ता गरिएको वडाअध्यक्ष दान बहादुर खड्काले बताए।
उनले भने, ‘विद्युत कार्यालयले हामीलाई टेर्दै टेरेन।’
वितरण केन्दको चरम लापरबाहीका कारण जोखिम बढेको अध्यक्ष खड्काको गुनासो छ।
यता स्थानीय तहसँग समन्वय गरेर आफूहरूले पोल र तार वितरण गरेकाले समस्याको हल
गाउँपालिका स्वयम्ले गर्नुपर्ने वितरण केन्द्र डडेल्धुरा प्रमुख ईश्वर कुमार श्रेष्ठ बताउँछन्।
‘अजयमेरु गाउँपालिकामा सबै भन्दा बढी १ सय २१ पोल गएका छन्। किन मर्मतका लागि अनुरोध गरिएन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।