कानपुर– न्युजिल्यान्डविरुद्धको तीन एकदिवसीय सिरिज भारतले २–१ ले जितेको छ । कानपुरमा आइतबार भएको तेस्रो तथा निर्णायक एकदिवसीयमा भारतले न्युजिल्यान्डलाई ६ रनले पराजित गर्दै सिरिज कब्जा गरेको हो।
भारतले दिएको ३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन मात्र बटुल्यो । न्युजिल्यान्डका लागि कोलिन मुर्नोले ७५, केन विलियमसनले ६४ र टम लाथमले ६५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । बलिङतर्फ भारतका जसप्रित बुमराहले ३ र युजवेन्द्र चहालले २ विकेट लिए।
कप्तान विराट कोहली र प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माको सतकको सहयोगले पहिलो ब्याटिङ गरेको भारतले कोहलीको १ सय १३ र रोहितको १ सय ४७ रनको सहयोगले ६ विकेटको क्षतिमा ३ सय ३७ रन बनायो।
यी दुबैले दोस्रो विकेटका लागि २ सयभन्दा बढी रनको साझेदारी गरे । उनीहरुको एकदिवसीयमा यो चौथो मौका थियो । कोहलीले ३२ औं सतक पुरा गरे । रोहितको पनि एकदिवसीयमा १५औं सतक थियो । उनले १ सय ३८ बलमा २ छक्का र १८ चौकाको सहयोगले सतक बनाएका थिए । उनको न्युजिल्यान्ड विरुद्ध पहिलो सतक थियो।
कोहलीको भने न्युजिल्यान्ड विरुद्ध पाँचौं सतक हो । उनले यो वर्ष मात्र आफ्नो छैटौं सतक पूरा गरेका छन् । कप्तानको भूमिकामा उनको दसौं सतक हो।
न्युजिल्यान्डले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । महेन्द्रसिंह धोनीले २५ रन बनाए । केदार जाधवले १८ र शिखर धवनले १४ रन बनाएका थिए । टिम साउथी र मिल्नेले २–२ विकेट बाँडेका थिए । तर, दुवै आज महँगो सावित भए । सान्टनेरले पनि २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।