बनियानी, झापा- कुखुराको मासुको पारखीका लागि झापाको बिर्तामोडमा ‘चिकेन स्टेसन’ सञ्चालनमा आएको छ। पाँच युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङले रु ४० लाखको लागतमा ‘चिकेन स्टेसन’ सञ्चालन ल्याएका हुन्।
कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’ पस्केको सञ्चालकमध्येका मदनले जानकारी दिए । मुख्यतः काठमाडौँबाट सञ्चालित ‘चिकेन स्टेसन’ पूर्वमा विस्तार गर्ने लक्ष्यका साथ आफूहरुले बिर्तामोडमा शाखा विस्तार गरेको उनले बताए।
'वैशाखभित्रमा दमक र बेलबारीमा पनि सञ्चालन आउने छ', उनले भने, 'तीनवटै स्थानमा स्टेसन सञ्चालन गर्न रु एक करोड २० लाख खर्च लाग्ने छ।'
केएफसी खानकै लागि झापाबाट धेरै मानिस भारतको सिलिगुढी जाने गरेका उल्लेख गर्दै उनले चिकेन स्टेसन खुलेसँगै अब सिलिगुढी धाउनु नपर्ने बताए।
चिकेन स्टेसनमा ३० वटाभन्दा बढी प्रकारका कुखुराको परिकार पाइने अर्का सञ्चालक बुढाथोकीले बताए।
स्टेसन परिसरमा धुम्रपान तथा मध्यपान प्रतिबन्ध गरिएको छ। स्टेसनमा ९ जनाले रोजगारीसमेत पाएका छन् भने तीन वटै स्थानमा सञ्चालनमा आएपछि करीब ४० ले रोजगारी पाउने सञ्चालक गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।