भादगाउँ- भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको खुला चौरको पुनः नापजाँच हुने भएको छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरबीच शुक्रबार सम्पन्न भेटघाटमा सो जग्गाको क्षेत्रफल एकिन गर्न पुनः नापजाँच गर्ने सहमति भएको हो।
सो भेटमा भक्तपुर नगरपालिका र नेपाल ट्रष्टको संयुक्त रोहबरमा नापी कार्यालयमार्फत नापजाँच गरी सिमाङ्कन गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए। सो अवसरमा नगरप्रमुख प्रजापतिले पर्ती सरकारी जग्गा अतिक्रमण भइरहेको हुँदा जग्गा संरक्षणको आवश्यकतालाई मध्यनजर गर्दै सो जग्गामा नपाले करिब ९८ लाखको लागतमा जग्गाको पूर्वपश्चिम र दक्षिणतर्फ सीमाङ्कन गरी पर्खाल लगाउने कार्य अघि बढाएको जानकारी गराए।
उनले तत्कालीन राजदरबारले स्थानीय मोही, किसानको सो जग्गालाई २०२६ सालमा जग्गा धनीलाई प्रतिरोपनी रु एक हजार २ सय र मोहीलाई रु ८ सय दिएर जबर्जस्ती अधिग्रहण गरेको बताउँदै उक्त जग्गा जनताको अधिकतम हितमा प्रयोग गर्न नपालाई दिनुपर्ने मागसमेत गरेका थिए।
उनले जनताको भावनाअनुसार सो जग्गामा नपाले ख्वप विश्वविद्यालय स्थापना गर्ने लक्ष्य राखेको जानकारी गराए।
भेटमा नेपाल ट्रष्टका सचिव ठाकुरले नेपाल सरकारको स्वामित्वमा रहेको सो जग्गाको संरक्षण आवश्यक भएको र उक्त जग्गाको संरक्षण गरेकोमा भक्तपुर नपालाई धन्यवाद दिँदै आगामी दिनमा सो जग्गाको उपयोगका बारेमा नपा र ट्रष्टबीच समन्वयमा अघि बढ्नुपर्ने बताए। सरकारको सम्पत्ति जनताकै सम्पत्ति भएको हुँदा १०८ रोपनी जग्गा संरक्षण गरी जनताको हितमा अधिकतम सदुपयोग गर्नका निम्ति गरेको संरक्षण कार्य सकारात्मक रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।