रसुवा– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाबाट भूकम्प प्रभावितको पहिलो किस्ता सिफारिसको फाइल गायब भएको छ।
पहिलो किस्ता सिफारिसका लागि कालिका गाउँपालिका वडा नम्बर ३ का ८ जना लाभग्राहीको फाइल गायब भएको हो । इञ्जिनियरले भवन डिभिजन कार्यालयमा ल्याएको फाइल जिल्ला समन्वय समितिमा पठाएपछि गायब भएको बताइएको छ।
चैतमा सिफरिस गरिएको फाइल हराएपछि पुनः साउनमा सिफारिस गरिएको फाइल गायब भएको कालिका गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुष्पराज न्यौपानेले बताए।
फाइल नभेटिएपछि फाइल हराएका लाभग्राहीले कार्यालयमै फाइल पुर्याउँदा समेत चासो नदेखाइएको गुनासो गरेका छन् । फाइल हराएको तीन महिना बित्दा समेत खोज्ने प्रयास नभएपछि पुनः अर्को फाइल ल्याउँदा समेत प्रक्रिया अगाडि नबढाइदिएको कालिका गाउँपालिका वडा नम्बर ३ का भूकम्प प्रभावित पीडित विश्वास नेपालीले बताए।
‘किस्ता सिफारिसका लागि इञ्जिनियरले चैतमा फाइल लगेका थिए, साउनसम्म किस्ता नपाएपछि समन्वय समितिमा जाँदा फाइल भेटिएन’, उनले भने।
फाइल हराएको विषयमा स्थानीय विकास अधिकारी, जिल्ला समन्वय समितिका सभापति, प्राधिकरण जिल्ला समन्वय समिति रसुवाका प्रमुख लगायत अनभिज्ञतासँगै आश्चर्य प्रकट गरेका छन्।
समन्वय समिति रसुवाका सभापति कुलप्रसाद भट्टले भने, ‘फाइल हराएको विषयमा मलाई जानकारी छैन । के भएको रहेछ, छानबिन गरेर प्रक्रिया अगाडि बढाउँछु।’
फाइल हराएको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालयले फाइलको बारेमा सम्पूर्ण विवरण पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले सोमबार साँझ ५ बजेसम्ममा सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिँदै जानकारी नआएमा कारबाही प्रक्रिया अघि बढाउने बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।