काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आगामी सोमबारको लागि बोलाइएको बैठक बस्न नसक्ने नेताहरूले बताएका छन्।
महासमितिको बैठकमा गरिएको प्रतिबद्धता विपरीत विधान बहुमतको आधारमा पारित गरिएपछि संस्थापन इतरका नेताहले आगामी बैठक पनि बहिष्कार गर्ने चेतावनी दिएका छन्।
साथै, अनुशासन समिति र निर्वाचन समितिको गठन गर्ने प्रस्ताव पूर्व छलफल हुनुपर्ने नेताहरूको भनाइ छ। यसअघि फागुन १४ को लागि बोलाइएको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले बहिष्कार गरेपछि बस्न सकेको थिएन।
अनुशासन र निर्वाचन समिति गठनको एजेण्डालाई बैठकमा प्रवे्श गराउन खोजेका पार्टी सभापति शेर बहादुर देउवालाई पूर्व तयारी नगरिएको भन्दै संस्थापन इतर समूह असन्तुष्ट भएको छ।
गत साता दुई दिन बसेको इतर समूहका नेताहरूले एकलौटी तरिकाले संस्थापन पक्ष चलिरहेको जनाउँदै चैत ४ को केन्द्रीय समितिको बैठक पनि बहिष्कार गर्ने जनाउ दिएका छन्।
नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा बसेको बैठकले अनुशासन र निर्वाचन समितिमा थप छलफल आवश्यक रहेको जनाएको थियो। इतर समूहले केन्द्रीय समितिको बैठक अघि नै सहमति गरी बैठक बोलाउन माग गरेको छ।
१४ फागुनमा बस्ने भनिएको केन्द्रीय समिति बैठकमा देउवाले अनुशासन समिति गठनको एजेण्डा प्रवेश गराउन खोजेपछि बैठक अवरुद्ध भएको थियो।
अनुशासन समिति अन्य समूह जस्तै नभएको बताउँदै केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘चैत ४ गते अघि आन्तरिक छलफलको सम्भावना नरहेकोले त्यो दिन बैठक बस्ने सम्भावना छैन।’
अर्को तर्फ संस्थापन पक्षले अनुशासन समितिमा रहने पाँच मध्ये दुई जना इतर समूहलाई भागबण्डा गरिएको जनाएको छ। सह महामन्त्री डा प्रकाशशरण महतले भने, ‘उनीहरूका तर्फबाट मागिएका नाम नदिने,अनि निर्णय प्रक्रियामा अड्को थाप्ने?’
देउवाले आफू पक्षीय नेता भीष्म आङदम्बेलाई संयोजक तोकेर अनुशासन समिति बनाउने पहल गरेका छन्। इतर समूहले निष्पक्ष व्यक्ति संयोजकमा चाहेको छ।
केन्द्रीय सदस्य डा शेखर कोइरालाले व्यक्ति यो वा त्यो को पक्षमा आफु नरहेको बताए। उनले भने, ‘उपसभापति मध्येबाट कुनै एक भए पनि हुन्छ।’ केन्द्रीय कार्य समितिको बैठक अघि शीर्ष तहका नेताहरूको आन्तरिक बैठक हुन सकेको छैन।
नेताहरू उपत्यका बाहिर रहेकाले बैठक सम्भव नभएको बताइएको छ। सभापति देउवा एक साताको जिल्ला भ्रमणपछि बुधबार मात्रै काठमाडौं फर्केका छन्।
वरिष्ठ नेता पौडेल जिल्लाका कार्यक्रममा छन्।उनी शुक्रबार साँझ काठमाडौं फर्कने बताइएको छ। महामन्त्री डा शशांक कोइराला शनिबार उपत्यका बाहिरको कार्यक्रममा जाने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।