राजविराज– सप्तरीको पूर्व–उत्तर क्षेत्रका स्थानीय तहमा भुस्याहा कुकुरले टोकेर घाइते हुनेको संख्या बढेको छ।
कञ्चनरुप नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ३ महिनामा ४० जनाको उपचार गरिएको छ। स्वास्थ्य केन्द्रमा गत पुष १३ गतेदेखि रेबिज विरुद्धको खोप सुरु भएपछि आसपासका क्षेत्रबाट उपचार र खोपका लागि मानिस आउने गरेका छन्।
उपचारका लागि केन्द्रमा आएका ४० मध्ये २३ जना २० वर्ष मुनिका र १३ जना १० वर्ष मुनिका बालबालिका छन्। खोप लिन प्राथमिक स्वास्थ्य केन्द्रमा आएका मध्ये अधिकांश कञ्चनरुप र सप्तकोसी नगरपालिका तथा केही उदयपुरको पुरन्दह, भागलपुर, आम्बासी लगायतका स्थानबाट आएका छन्।
घाइते भएका कतिपय व्यक्ति उपचार र खोपका लागि राजविराज स्थित सगरमाथा अञ्चल अस्पताल र निजी क्लिनिकमा पनि जाने गरेकाले संख्या अझै बढी हुनसक्ने अहेब मनोजकुमार साहले जानकारी दिए।
‘हामीले रेबिजको खोप सुरु गरेको धेरै भएको छैन। जानकारी नभएकाहरू कोही राजविराज पुग्छन्, कोही निजी क्लिनिकमा पनि उपचार गराउँछन्,’ साहले भने, ‘त्यसैले पीडितहरूको संख्या अझै धरै हुनसक्छ।’
भुस्याहा कुकुरको बिगबिगी बढेपछि सर्वसाधारण आतंकित भएका छन्। सुरक्षा निकाय, गाउँपालिका तथा नगरपालिकाले समयमै कुकुर नियन्त्रण गर्नुपर्ने उनीहरूको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।