काठमाडाैं– चर्चित बलिउड अभिनेता गुलशन ग्रोवर यतिबेला नेपालमा छन्। उनी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘द म्यान फ्रम काठमाडौं’को प्रिमियर शोमा सहभागी हुन नेपाल आएका हुन्।
गत मंगलबार नेपाल ओर्लिएका ग्रोवरले बुधबार दिँउसो पाटन दरबार स्क्वायरमा नेपाली फ्यानहरुसँग साक्षात्कार गरे। फिल्मको प्रमोसनल कार्यक्रममा दरबार स्क्वायरमा उपस्थित ग्रोवरले नेपाल र नेपालीहरुको निकै खुलेर प्रशंसा समेत गरे।
अभिनेत्री मनीषा कोइरालासँग पहिलो पटक नेपाल आएको स्मरण गर्दै ग्रोवरले नेपालको सुन्दरता, खाना र आम नेपालीहरुको इमानदारीपनको प्रशंसा समेत गरे।
उनले कार्यक्रममा भने, ‘नेपाल आकर दिल गार्डेन गार्डेन हो गया है। नेपाल इत्ना अच्छा लग्ता है, नेपालका कल्चर, नेपाल के लोग, नेपालका खाना और नेपालका मासुमियत, भोलापन, बहोत अच्छा लग्ता है, पहेलीबार में नेपाल आया था. मेरी दोस्त एक्ट्रेस मनीषा कोइराला के साथ, फिर में मेरो दुस्रे दोस्त पेमा धोन्डुप के साथ नेपाल आया था, जो इसी पिक्चर्सका डाइरेक्टर हे। उन के साथ सुटिङ कर्ने के लिए नेपाल आया था।’
उपस्थित दर्शकहरु समक्ष फिल्मका विभिन्न संवादसमेत सुनाउन भ्याएका ग्रोवरले नेपाली फिल्म र ‘द म्यान फ्रम काठमाडौं’ सम्पूर्ण दर्शकहरुलाई हेर्नसमेत सुझाए।
फिल्ममा अभिनेता ग्रोवरसँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, आना शर्मा, शिशिर बाङ्देल, नीर शाह, आमिर गौतम लगायतको अभिनय रहेको छ। फिल्मले बिहीबार साँझ ललितपुरको लबिम मलमा प्रिमियर शोको आयोजना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।