इलाम- इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरी बजारमा आगलागी भएको छ। धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी पस्ने गेट अगाडिका घरहरुमा आगलागी भएको हो।
आज दिउँसो १ बजेबाट सुरु भएको आगलागीमा चक्र मुखिया र उनका भाइ कमल मुखियाको घर पूर्ण रुपमा ध्वस्त भएको छ भने सँगै जोडिएको निमादोर्जे शेर्पाको घरमा समेत आगलागी भएको स्थानीयवासी दिनेश सुवेदीले जानकारी दिए।
नजिकै रहेको वनमा पनि आगलागी भइरहेको उनले बताएका छन्। स्थानीयवासीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।
सूचना प्राप्त हुनासाथ आगलागी नियन्त्रणका लागि इलाम नगरपालिकाले त्यसतर्फ दमकल पठाइएको नगरपालिकका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए। इलामका सदरमुकामबाट दमकलसहित प्रहरी र नेपाली सेनालाई घटनास्थलतर्फ पठाइएको पनि उनले बताए।
चक्र मुखियाको भान्छाघरबाट आगलागी सुरु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।