मुम्बई- नवाजुद्दीन सिद्दिकीले ठूला स्क्रिनमा अभिनयको कला भरपूर प्रयोग गरिसकेका छन्। उनी स्वीकार गर्छन्, जीवनमा कुनै ठूलो अपेक्षा पनि थिएन। भन्छन्, 'कुनै ठूलो चिजको चिन्तन पनि थिएन न त चमत्कारबारे नै सोचेको थिएँ।'
२०१९ मा नवाजुद्दीनका दुई फिल्म पेटा र ठाकरे प्रदर्शनमा आइसकेका छन्। अब रितेश बतराको फिल्म 'फोटोग्राफ' प्रदर्शनको तयारीमा छ। जुन भोलिबाट हलमा लाग्नेछ।
बिबिसीले नवाजुद्दीनसँग बुझ्न चाह्यो, 'चाँडोचाँडो फिल्म रिलिज भइरहँदा अधिक चर्चाको डरले सताउँदैन?'
उनी भन्छन्, 'मैले थिएटरमा २ सय नाटकमा २ सय भूमिका गरेको छु। जब १० वर्ष म कामविहीन भएँ। त्यसबेला करिब ३ हजार मानिसलाई ध्यानपूर्वक नियालेको छु। आउँदो सय वर्ष पनि मिल्यो भने पनि मेरो अधिक चर्चा हुन पाउने छैन। किनकि मेरो साथ त्यस्ता चर्चाका सामग्री निकै छन्। मुम्बईको चप्पाचप्पा मैले आफ्नो पैतालाले छान मारेको छु।'
आउँदो फिल्म 'फोटोग्राफ'मा नवाजुद्दीन मुम्बईको गरिब आम फोटोग्राफरको भूमिकामा देखिनेछन्। उनी एक धनाढ्य युवतीसँग प्रेम सम्बन्धमा रहनेछन्।
तर, उनले प्रस्ट पारे कि यो प्रेम कहानी बलिउड फिल्मको जस्तो प्रेम कहानी होइन।
उनी भन्छन्, 'हामीलाई हिन्दी फिल्मीमा लभ स्टोरी हेर्ने बानी परिसक्यो। असल जिन्दगीमा हजारौं किसिमका प्रेम कहानी भेटिन्छन्। तर, हामी उही क्लिसे प्रेम कहानीमै फस्छौं। बलिउड लभ स्टोरी असल जिन्दगीमा लागू पनि हुन्न। त्यो त भ्रम मात्र हो। तर, हामीलाई यस्तै कहानीमा लत बसिसकेको छ।'
केही फिल्म फेस्टिभलमा गइसकेको 'फोटोग्राफ'ले अन्तर्राष्ट्रिय दर्शकबाट वाहवाही लुटिसकेको छ। हिन्दी फिल्मको अन्तर्राष्ट्रिय दर्शकले भरपुर मजा पनि लिइरहेका छन्। तर, नवाजुद्दीन ठान्छन् कि– अब हिन्दी फिल्मलाई गम्भीरतापूर्वक पनि लिनुपर्छ।

'लन्च बक्स'को उदाहरण दिँदै उनी भन्छन्, 'यो फिल्म भारतभर सबभन्दा मन पराइएको फिल्ममा दरियो। यही फिल्मले दुनियाँलाई बताउँछ कि भारतमा पनि राम्रा फिल्म बन्छन्। यहाँ पनि गम्भीर काम हुन्छन् र हामी मजाकका रुपमा मात्रै लिदैनौं।'
राजेश खन्ना देख्दा आश्चर्यचकित
लामो संघर्षपछि सफलताको स्वाद चाखिरहेका नवाजुद्दीन कहिले कुनै अभिनेता देखेर आश्चर्यमा परेनन्। जब पहिलो पटक राजेश खन्नालाई देखे, उनी त एकटकले हेरेको हेर्यै भए।
जब उनी मुम्बईमा नयाँनयाँ थिए। त्यसबेला एक जना साथीले राजेश खन्नाको साथमा एउटा नाटक गरेका थिए। एक दिन ती साथीले नवाजुद्दीको काकाको अफिस लिएर गए।
काकाको 'आराधना' फिल्म नवाजुद्दीनले कैयौं पटक हेरिसकेका थिए। काकाले 'आराधना'को निकै ठूलो पोस्टर टाँगेका थिए। साथीसँगै त्यहाँ पुगेका नवाजुद्दीनले त्यही पोस्टर सामुन्ने एउटा व्यक्ति देखे। केही पढिरहेका। उनी थिए राजेश खन्ना। यो दृश्य देख्नासाथ नवाजुद्दीन अवाक् भए। टोलाएर हेरेको हेर्यै भए।
फिल्ममा निकै व्यस्त नवाजुद्दीनले आफ्नो जीवनमा किताब पनि लेखिसकेका छन्। तर, यो निकै विवादित बन्यो। यसकारण उनले निर्णय गरिसके कि अब केही लेख्ने मात्र होइन निर्देशन पनि गर्नेछैनन्। पूरा जिन्दगी केवल अभिनय गर्नेछन्।
रितेश बतराद्वारा निर्देशित 'फोटोग्राफ'मा नवाजुद्दीनका साथमा सान्या मल्होत्राको पनि अभिनय सहेको छ। फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउनेछ। बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।