काठमाडौं- नेपाली कांग्रेसले आगामी सोमबारका लागि केन्द्रीय कार्य समितिको बैठक डाकेको छ। तर उक्त बैठक संस्थापन इतर नेताहरुले बहिस्कार गर्ने चेतावनी दिएका छन्।
महासमितिको बैठकमा गरिएको प्रतिबद्धताविपरीत विधान बहुमतको आधारमा पारित गरिएपछि संस्थापन इतरका नेताहरुमा असन्तुष्टि चुलिएको छ। साथै, अनुशासन समिति र निर्वाचन समिति गठन गर्ने प्रस्तावपूर्व छलफल हुनुपर्ने उनीहरुको भनाइ छ।
यसअघि फागुन १४ को लागि बोलाइएको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिस्कार गरेपछि बस्न सकेको थिएन।
अनुशासन र निर्वाचन समिति गठनको एजेन्डालाई बैठकमा प्रवेश गराउन खोजेका पार्टी सभापति शेरबहादुर देउवाले पूर्वतयारी नगरेको भन्दै संस्थापन इतर समूह असन्तुष्ट छ।
गत साता दुई दिन बसेको इतर समूहका नेताहरुले एकलौटी तरिकाले संस्थापन पक्ष चलिरहेको जनाउँदै चैत ४ को केन्द्रीय समितिको बैठक पनि बहिस्कार गर्ने जनाउ दिएका हुन्। नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा बसेको बैठकले अनुशासन र निर्वाचन समितिमा थप छलफल आवश्यक रहेको जनाएको थियो। इतर समूहले केन्द्रीय समितिको बैठकअघि नै सहमति गरी बैठक बोलाउन माग गरेको छ।
१४ फागुनमा बस्ने भनिएको केन्द्रीय समिति बैठकमा देउवाले अनुशासन समिति गठनको एजेन्डा प्रवेश गराउन खोजेपछि बैठक अवरुद्ध भएको थियो। अनुशासन समिति अन्य समूह जस्तै नभएको बताउँदै केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘चैत ४ गतेअघि आन्तरिक छलफलको सम्भावना नरहेकाले त्यो दिन बैठक बस्ने सम्भावना छैन।’ अर्कोतर्फ संस्थापन पक्षले अनुशासन समितिमा रहने पाँचमध्ये दुई जना इतर समूहलाई भागबण्डा गरिएको जनाएको छ।
सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘उनीहरुका तर्फबाट मागिएका नाम नदिने, अनि निर्णय प्रक्रियामा अड्को थाप्ने?’
देउवाले आफू पक्षीय नेता भीष्म आङदेम्बेलाई संयोजक तोकेर अनुशासन समिति बनाउने पहल गरेका छन्। इतर समूहले निष्पक्ष व्यक्ति संयोजकमा चाहेको छ। केन्द्रीय सदस्य डा शेखर कोइरालाले भने व्यक्ति यो वा त्यो को पक्षमा आफू नरहेको बताए। ‘उपसभापति मध्येबाट कुनै एक भए पनि हुन्छ,’ कोइरालाले भने।
केन्द्रीय कार्यसमितिको बैठकअघि शीर्ष तहका नेताहरुको आन्तरिक बैठक हुन सकेको छैन। नेताहरु उपत्यकाबाहिर रहेकाले बैठक सम्भव नभएको बताइएको छ।
सभापति देउवा एक साताको जिल्ला भ्रमणपछि बुधबार मात्रै काठमाडौं फर्केका छन्। वरिष्ठ नेता पौडेल जिल्लाका कार्यक्रममा छन्। उनी शुक्रबार साँझ काठमाडौं फर्कने बताइएको छ। महामन्त्री डा शशांक कोइराला शनिबार उपत्यका बाहिरको कार्यक्रममा जाने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।