काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठनको तदर्थ समितिको स्थानमा संघ बाहिरबाट निर्वाचन समिति गठन गर्ने नयाँ बहस सुरु भएको छ।
पार्टीको शुभेच्छुक संगठनबाट निर्वाचन समिति बनाउन केही नेताहरुले सुझाएका छन्। पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई दलहरुले निर्वाचन गराउन अन्तरिम मन्त्रिपरिषद् गठन गरेको नजिर देखाई संघको नयाँ नेतृत्व चयन गर्न गर्न सुझाव दिइएको छ।
पार्टीको शुभेच्छुक संगठन प्राध्यापक संघ, शिक्षक संघ र प्रजातान्त्रिक कानुन व्यवसायी संघबाट निर्वाचन समिति बनाउन केन्द्रीय सदस्य डा रामशरण महतले प्रस्ताव अघि सारेका हुन्। महतको प्रस्तावलाई केही केन्द्रीय सदस्यले स्विकारेका बताइएको छ।
शुभेच्छुक संस्थाबाट ७ जनाको निर्वाचन समिति बनाउन सुझाव दिइएको छ। उक्त समितिलाई निश्चित समयावधि दिएर १२औं महाधिवेशन गर्न सकिने नयाँ विकल्प महतले अघि सारेका हुन्। समितिले संघका नेता तथा कार्यकर्तालाई महाधिवेशन प्रतिनिधि बनाई जिल्लामा खटाउन सक्नेछ।
तदर्थ समितिमा देखिएको विवादलाई हल गर्ने विकल्पका रूपमा महतले नयाँ विधि सुझाएका हुन्।
तदर्थ समिति ३२ वर्ष उमेरमुनि वा माथि र आफू पक्षीय विद्यार्थीलाई नेतालाई नेतृत्व दिने विषयमा पार्टीमा विवाद छ।
तीन पटक बढाइएको समयावधिमा १२औं महाधिवेशन गर्न नसकेपछि पार्टीले गत महिना संघलाई भंग गरेको थियो। तदर्थ समितिमा आफू पक्षीय विद्यार्थी नेता ल्याउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लागेका छन्। तेस्रो धारका नेताहरु ३२ वर्षे उमेर हद लगाएर तदर्थ समिति बनाउन चाहिरहेका छन्।
संघकै नेताहरुलाई १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिए महाधिवेशन हुनै नसक्ने कतिपयको भनाइ छ। तदर्थ समितिले ६ महिनाभित्र महाधिवेशन गर्नैपर्ने विधानमा व्यवस्था छ।
संघको विवादलाई साम्य पार्न महतले नयाँ मुक्ति निकालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।